अन्तरिक्षमा फोहोर कम गर्न जापानले काठको भू-उपग्रह बनाउने
एउटा जापानी कम्पनी र क्योटो विश्वविद्यालयले सन् २०२३ सम्ममा काठबाट निर्माण गरिएको विश्वको पहिलो भूउपग्रह बनाउन सहकार्य गरेका छन् । सुमिटोमो फरेस्ट्री कम्पनीले अन्तरिक्षमा काठको प्रयोगका बारेमा अनुसन्धान सुरु गरेको बताएको छ ।
सहकार्यको सुरुवातमा विभिन्न प्रकारका काठहरू पृथ्वीका कठिन वातावरण भएका स्थानमा परीक्षण गरिने बताइएको छ । अन्तरिक्षमा धेरै भूउपग्रहहरू छोड्ने क्रम बढेसँगै त्यहाँको फोहोर समस्या बन्न थालेको छ । काठबाट निर्मित भूउपग्रह अन्तरिक्षमै बलेर ध्वस्त हुने र त्यसले कुनै हानिकारक तत्त्व नछोड्ने वा पृथ्वीमा नखस्ने बताइएको छ ।
‘भूउपग्रह पृथ्वीको आकाशमा फर्कँदा जल्ने र त्यसले त्यहाँ छोड्ने हानिकारक तत्त्व वर्षौँ रहने कुराले चिन्तित छौँ,’ क्योटो विश्वविद्यालयका प्राध्यापक एवम् जापानी अन्तरिक्ष यात्री टाकाओ दोईले बताए । दोई सन् २००८ को मार्चमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेका थिए । सुमिटोमो फरेस्ट्री ४०० वर्षअघि स्थापित कम्पनी हो। कम्पनीका प्रवक्ताले प्रयोग हुन लागेका काठ हाललाई गोप्य राखिएको बताए ।
अन्तरिक्षमा धेरै यान र भूउपग्रहहरू प्रक्षेणण गर्ने क्रम बढी रहँदा पृथ्वीमा अन्तरिक्ष फोहरहरू खस्न सक्ने जोखिम पनि बढ्ने विज्ञहरू बताउँछन् । वैज्ञानिकहरू अन्तरिक्षबाट ती फोहोर हटाउने विभिन्न उपायहरूबारे अध्ययन गरिरहेका छन् । पृथ्वीलाई परिक्रमा गर्ने झन्डै ६,००० भूउपग्रहहरू छन् र तीमध्ये ६० प्रतिशत उपयोगविहीन अर्थात् फोहोरका रूपमा रहेका छन् ।
युरोकन्सल्ट नामक संस्थाका अनुसार यो दशकमा प्रत्येक वर्ष ९९० भूउपग्रह प्रक्षेपण गरिनेछन् जसको अर्थ सन् २०२८ सम्ममा पृथ्वीलाई परिक्रमा गर्ने १५,००० भूउपग्रह हुनसक्ने छन् ।
इलोन मस्कको स्पेसएक्सले ९०० भन्दा बढी भूउपग्रह छोडेको छ र अझै हजारौँ प्रक्षेपण गर्ने योजनामा रहेको छ । अन्तरिक्षमा भूउपग्रह प्रतिघण्टा ३६,००० किलोमिटरको गतिमा घुम्छन् जसका कारण ती ठोक्किँदा ठूलो क्षति हुनसक्छ।