विश्वमै देखिन थाल्यो कोरोनाभाइरसको नयाँ प्रकार
अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड १९ को नयाँ प्रकार बेलायतबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ । स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध बेलायतबाट फर्केका मानिसहरूसँग पाइएको छ । भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन् ।
अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए । जापानमा सबैभन्दा पहिले बेलायतबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो । त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ ।
जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ । फ्रान्समा १९ डिसेम्बरमा बेलायतबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले बेलायतसँग सीमा बन्द गरेको थियो । तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो ।
प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन बेलायतको केन्टमा दिन बिताएका थिए । यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो । यसैबीच कैयौँ युरोपेली देशहरूले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन् । त्यस्तो काम आइतवारबाट पूरै युरोपेली सङ्घमा समन्वयात्मक ढङ्गले सुरु गर्नु अगावै गरिएको हो ।
जर्मन अधिकारीहरूले आफूहरू थप एक दिन पर्खन सक्ने अवस्थामा नभएको भन्दै जेष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो । हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप पाउने व्यक्ति एकजना चिकित्सक भएको जनाएको छ ।
स्लोभाकियाले समेत खोप दिने काम सुरु गरेको जनाएको छ । युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी मनाउँदै त्यसलाई आफूहरूको ’एकताको मार्मिक क्षण’ बताएकी छन् । वैज्ञानिकहरूले बेलायतको अनुसन्धान प्रणाली बलियो रहेको कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला उक्त देशमा देखिएको हुनसक्ने बताएका छन् ।