लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा एक सय जनाले ज्यान गुमाएका र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ ।
अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन् । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २,७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो । राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन् ।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ । अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् । प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् । उनले खतरनाक गोदाम बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ ।

प्रतिक्रिया