काठमाडौँ । नेपालका मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन् ।
रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने । यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन् ।
‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन् । रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए ।
गतवर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए । यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।

प्रतिक्रिया