काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअघिको एकदिवसीय अभ्यास खेलमा मलेसियालाई ९ विकेटले हराएको छ । मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले २८ ओभरमा २२८ रनको लक्ष्य पाएको थियो । नेपालले यो लक्ष्य २८ ओभरमा १ विकेट गुमाएर भेटायो ।
नेपालका आसिफ शेखले १६१ रन बनाए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे । यस्तै अर्जुन कुमालले ८२ बलमा ७ चौकासहित नटआउट ६१ रन बनाए । आसिफ र अर्जुनले २२० रनको साझेदारी गरे । यसअघि टस जितेर ब्याटिङ गरेको मलेशिया ४८ ओभर २ बलमा २३२ रन बनाउँदा अलआउट भयो ।
मलेसियाका मुहम्मद स्याहादात रामलीले ६१ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४, करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । एसीसी प्रिमियर कप आगामी आइतबारदेखि मलेसियामा शुरू हुँदैछ । प्रतियोगितामा १० वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित साउदी अरब, बहराइन, मलेशिया र हङकङ तथा समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । समूह चरणबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल भदौ २७ गते हुनेछ ।

प्रतिक्रिया