काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस’मा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्टका रवीन्द्र ढाँट मनोनयनमा परेका हुन् ।
यस विधाका विजेताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विसं २०८२ भरि उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा पाँच खेलाडी चयन गरिएको आयोजक मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए । उनले वर्षभरि सफलता पाएर चर्चामा रहेका र सफलताको बाबजुद पनि ओझेलमा परेका खेलाडीलाई मनोनयन गरिएको बताए ।
अध्यक्ष अधिकारीका अनुसार जनताको मतदान (भोटिङ) का आधारमा अवार्डको विजेता चयन हुनेछन् । आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमई खल्तीबाट प्राप्त मतको आधारमा विजेता चुनिने उनले जानकारी दिए ।
खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरूबाट प्राप्त मतको हुनेछ । यस विधाका विजेताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।
आज नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आइएमइबीच आजै मतदान साझेदारका रूपमा प्रायोजन सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा खल्ती बाई आइएमइकी प्रमुख पूजा धामी र मञ्चका अध्यक्ष अधिकारीले हस्ताक्षर गरे ।
एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्तीमार्फत लिनेछ । यस अवसरमा यस वर्ष पनि कार्यक्रममा जोडिन पाउँदा आफू उत्साहित भएको बताउँदै धामीले खेलाडीको सम्मानमा मञ्चले गर्ने यस्ता कार्यक्रम सराहनीय र प्रशंसायोग्य रहेका जनाए ।
मञ्चका अध्यक्ष अधिकारीले आइएमई खल्ती परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे । एसियाली खेलकुद पत्रकार सङ्घ (एआइपिएस) एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ‘पिपल्स च्वाइस पल्सर’ खेलकुदको महत्त्वपूर्ण पाटो भएको बताए । उनले मनोनयनमा परेका खेलाडी महिनाभरी खेल खेली चर्चामा रहने भएकाले उक्त कार्यक्रमले अवार्डकै ओज बढाउने उल्लेख गरे ।
पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ । विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरूले जति रकम हाल्न पाइन्थ्यो । तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछन् । जसका लागि १० रुपैयाँ मात्र राख्न पाउने नियम बनाइएको छ ।
अर्थात् अब एक समर्थकले एउटा प्रयागकर्ता अकाउन्टबाट दिनमा एक पटक मात्र भोट हाल्न सक्नेछन् । तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ ।
आगामी भदौ १८ गते आयोजना हुने यस कार्यक्रममा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा पिपुल्स च्वाइससँगै वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नलिस्ट अवार्ड रहेका छन् ।

प्रतिक्रिया