एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी


काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा मंगलबार एरिका महिला र दीपेन्द्र पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन् ।

दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मान प्रदान गरे ।

एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गरे । उनीहरूले अवार्डसहित रु. २५ हजार प्राप्त गरेका छन् ।

हाम्रो खेलकुदले सातौँ वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गतवर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ ।