मालपोतका तत्कालीन नासु आचार्यविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आचार्यले २०५४ माघ २ देखि २०८० मंसिर २१ गतेसम्मको अवधिमा सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको हो ।

अनुसन्धानका क्रममा आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा देखिएको छ । तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद, ऋण भुक्तानीलगायत शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।

वैधानिक आयभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बढी खर्च तथा लगानी गरेको देखिएकाले आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

त्यस्तै, आचार्यले विभिन्न व्यक्तिसँगको मिलेमतोमा आपराधिक गतिविधिबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसालाई सम्पत्ति शुद्धीकरणको प्रक्रियामार्फत वैध बनाउने प्रयास गरेको पनि आयोगले जनाएको छ ।

सम्पत्ति स्थापन, तहकीकरण र एकीकरणमार्फत ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम समेत मुद्दा दायर गरिएको छ ।

अख्तियारले भ्रष्टाचारको बिगो ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा कायम गरी आचार्यलाई कैद, जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

त्यस्तै, उनकी श्रीमती ललिता राजभण्डारीलाई गैरकानुनी सम्पत्ति आर्जनमा सहयोगी तथा मतियारको भूमिका निर्वाह गरेको आरोपमा समान बिगो कायम गरी सजाय माग गरिएको छ ।