पाल्पामा पहिरोमा दुई जनाको मृत्यु, तीन बेपत्ता


पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । 

यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको  छ । घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी  दिए ।