भूमि आयोग र मालपोतका कर्मचारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकास्थित सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नं. १७७२ तथा सरकारी प्रकृतिका कित्ता नं. ५७२ र ९२१ को जग्गा तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी, मालपोत कार्यालयका कर्मचारी र जग्गा प्राप्त गर्ने व्यक्तिहरूको मिलेमतोमा कानुनविपरीत व्यक्तिको नाममा दर्ता गरिएको थियो ।

जग्गा उपलब्ध गराउने क्रममा स्थलगत निरीक्षण नगरेको, कानुनले तोकेको प्रक्रिया पूरा नगरेको र शहरी तथा बजार क्षेत्रमा तोकिएको १३० वर्गमिटरको सीमाभन्दा बढी जग्गा उपलब्ध गराएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष धिरबहादुर बमसहित पदाधिकारी, मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा कर्मचारी र जग्गा प्राप्त गर्ने व्यक्तिहरूविरुद्ध बिगो, कैद तथा जरिवानाको मागदाबी गरेको छ ।

आयोगका अनुसार बमसहित चार जनाविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो कायम गरिएको छ । अन्य प्रतिवादीविरुद्ध पनि छुट्टाछुट्टै बिगो कायम गरी सजायको मागदाबी गरिएको छ ।

कित्ता नं. ९२१ को जग्गा खरिद गर्ने नरेन्द्रबहादुर थापाविरुद्ध भने जग्गा जफत गरी नेपाल सरकारको नाममा कायम गर्न मागदाबी गरिएको छ ।