काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मतदाता वा सदस्य भएकै आधारमा कसैलाई पनि गलत काम गर्ने छुट नभएको बताएका छन् ।
शुक्रबार निर्वाचन क्षेत्र भ्रमणका क्रममा चितवनको इच्छाकामनामा कार्यकर्ताहरुसँगको भेटमा सभापति लामिछानेले सबैले विधिको पालना गर्नुपर्ने बताएका हुन् । उनले आफ्ना नेता तथा समर्थकलाई जे गरे पनि छुट नहुने बताए ।
उनले भने, ‘हाम्रा कारणले, हाम्रो भोटर भएका कारणले, हाम्रो पार्टीको सदस्य भएका कारणले उसले जे गरे पनि छुट हुन्छ भन्ने होइन । पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन ।’
उनले अहिले आफ्नो ठूलो जिम्मेवारमा भएकाले लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा आउन नपाएको बताए । उनले पार्टीको संरचनालाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास आवश्यक रहेको बताए ।
उनले स्थानीय तहमा पार्टीका सम्भावित नेतृत्वको पहिचान र विकास गर्न कार्यकर्तालाई आग्रह गर्दै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व अहिलेबाटै तयार गर्नुपर्ने बताए।

प्रतिक्रिया