रवि-बालेनलाई बाबुरामको सुझावः ‘इतिहासका गल्ती नदोहोर्‍याऊ, नयाँ इतिहास बनाऊ’


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच बढ्दै गएको असमझदारीप्रति चिन्ता व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमार्फत भट्टराईले नवोदित सत्ताधारी दलभित्रको असमझदारी सार्वजनिक रूपमा देखिन थाल्नु देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् ।

उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइराला समूहबीच देखिएको विवाददेखि २०४७ पछिको कांग्रेसको ७४ र ३६ समूह, २०५८ पछिको गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्षलाई स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी वीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन । स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह वीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ।’

त्यस्तै, एमालेभित्र महाकाली सन्धिको पक्ष र विपक्षमा देखिएको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षधरबीचको अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र र जनतालाई ठूलो क्षति पुर्याएको उनको भनाइ छ ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्,’ भट्टराईले लेखेका छन् । जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक दलले गरेका गल्ती नदोहोर्याउन सुझाव दिँदै उनले इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘भनाइ पनि छ –इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्। जेन–जी विद्रोहको जगमा बनेको युवा वाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस् !’