काठमाडौं । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।
परिषद्को केन्द्रीय कार्यसमितिको भदौ ११ गते बसेको आकस्मिक बैठकले देश तथा विदेशमा रहेका पूर्वप्रहरी कर्मचारी र इच्छुक महानुभावबाट राहत रकम संकलन गर्ने निर्णय गरेको हो ।
भदौ १० गते भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति पुरयाएको परिषद्ले जनाएको छ । बाढीबाट सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका कर्मचारी, राष्ट्रसेवक, विद्युत् आयोजनाका कर्मचारी, व्यापारी, पदयात्री, तीर्थयात्री तथा विदेशी पर्यटकसमेत प्रभावित भएको परिषद्को भनाइ छ ।
सरकारले उद्धार तथा राहतका कामलाई तीव्रता दिइरहे पनि विपद्को घडीमा बहालवाला तथा पूर्वप्रहरी कर्मचारीका परिवारमा परेको पीडामा आफूहरूले पनि सहयोग गर्नुपर्ने भन्दै परिषद्ले राहत अभियान सञ्चालन गरेको जनाएको छ ।
रकम जम्मा गरेपछि भौचरको फोटो परिषद्का कोषाध्यक्ष पूर्वप्रहरी निरीक्षक ज्ञानबहादुर कुताललाई भाइबर, मेसेन्जर वा ह्वाट्सएपमार्फत पठाएर जानकारी गराउन परिषद्ले अनुरोध गरेको छ ।
परिषद्ले सहयोग प्राप्त रकम र सहयोगदाताको नामावली पारदर्शी रूपमा अभिलेख राख्ने तथा सहयोगदातालाई कदरपत्रसमेत प्रदान गर्ने जनाएको छ । संकलित विवरण नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत जानकारीका लागि उपलब्ध गराइने परिषद्ले जनाएको छ ।


प्रतिक्रिया