बाढी प्रभावित २६ सय परिवारका लागि अमेरिकी संस्थाले पठायो ४० टनभन्दा बढी राहत सामग्री


काठमाडौं । बाढी प्रभावितका लागि अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सले पठाएको ४० टनभन्दा बढी आकस्मिक राहत सामग्री बुधबार काठमाडौं आइपुगेको छ।

बाढीबाट प्रभावित करिब २६ सय परिवारलाई पुग्ने गरी पठाइएको राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्ती छन्।

स्थानीयस्तरमा राहत तथा उद्धारमा सक्रिय संस्थामार्फत प्रभावित परिवारलाई उक्त सामग्री वितरण गरिने जनाइएको छ।
नेपालस्थित अमेरिकी दूतावासले नेपालको आवश्यकता अनुसार जीवनरक्षक राहत सामग्री पुर्याउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरिरहेको जनाएको छ।