काठमाडौं । बाढीपहिरोबाट प्रभावित रसुवा जिल्लामा खानेपानीको अभाव भएपछि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले खानेपानी व्यवस्थापनका लागि पहल गरेको छ।
महासंघका अध्यक्ष खेमराज ओली तथा सल्लाहकारद्वय चोकप्रसाद धिताल र शंकर गौतमले व्यक्तिगत खर्चमा करिब ७५ हजार रुपैयाँ बराबरका हिलट्यांकी उपलब्ध गराएका हुन्। बाढीबाट बढी प्रभावित क्षेत्रमा ६ वटा स्थानमा ट्यांकी राखेर सामूहिक रूपमा खानेपानी वितरणको व्यवस्था गरिएको महासंघले जनाएको छ।
खानेपानी व्यवस्थापन तथा वितरणमा विद्धुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा रहेको टोली तथा कर्मचारीहरूले समेत सहयोग गरेका छन्।
यसैबीच, अध्यक्ष ओलीले देशभर रहेका सदस्य खानेपानी उपभोक्ता संस्थाहरूलाई रसुवाका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेका छन्। महासंघको आग्रहपछि लेखनाथ, टीकापुर, खलंगा–शीतलपाटी, कावासोती, प्रगतिनगर दाङ, सिरिचौर, बेनी, मुसिकोट–खलंगा तथा अँधेरीखोला लगायतका खानेपानी उपभोक्ता संस्थाहरू सहयोगका लागि अघि सरेका छन्।
महासंघले देशभरका खानेपानी उपभोक्ता संस्थाहरूलाई आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गर्न वा आवश्यक जिन्सी सामग्री उपलब्ध गराउन अनुरोध गरेको छ।
विपद्को समयमा सामाजिक सञ्जालमा सहानुभूति मात्र व्यक्त गर्नु पर्याप्त नहुने भन्दै महासंघले जिम्मेवार व्यक्ति तथा संस्थाहरूले व्यवहारमै सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
रसुवाका बाढीपीडित नागरिकलाई खानेपानी उपलब्ध गराउने अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहयोगीप्रति राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया