काठमाडौँ । हिन्दू स्वयंसेवक संघ नेपालले रसुवाका विपद प्रभावित क्षेत्रमा राहत तथा मानवीय सेवा अभियान जारी राखेको जनाएको छ । संघका वीरगञ्जस्थित स्वयंसेवकहरूले करिब २ हजार परिवारलाई पुग्ने राहत सामग्री व्यवस्थापन गरी भदौ १४ गते राति प्रभावित क्षेत्रतर्फ पठाएका छन् ।

संघका अनुसार राहत सामग्रीमा चाउचाउ, बिस्कुट, साबुन, कचौरा, गिलास, प्लेट, कराही, पानी तताउने केटल, चना, स्याम्पु, टुथपेस्ट, चियापत्ती, टर्च, लाइटर, अटेची, कपडा, झुल, बाम, भुटेको चना र त्रिपाललगायत सामग्री रहेका छन्।

यसअघि नुवाकोटको आर्चालेमा बाटो अवरुद्ध हुँदा समेत संघका स्वयंसेवकहरूले कठिन परिस्थितिको पर्वाह नगरी गाडी धकेल्दै तथा राहत सामग्री डोकोमा बोकेर प्रभावित परिवारसम्म पहिलो राहत पुर्याएका थिए।

विपद्को समयमा राहत सामग्रीसँगै पीडित परिवारलाई आफू एक्लो नभएको अनुभूति दिलाउनु पनि आफ्नो जिम्मेवारी भएको संघले जनाएको छ । संघले प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत तथा मानवीय सेवा कार्यलाई निरन्तरता दिने जनाएको छ।

त्यस्तै संघले सोमबार नुवाकोटको किस्पाङ्ग गाउँपालिकाको वडा नम्बर ५ स्थित अर्चलेका ७८ प्रभावित परिवार तथा अस्थायी होल्डिङ सेन्टरमा बस्दै आएका ७५ जनालाई आवश्यक खाद्यान्न किट वितरण गरेको छ ।





प्रतिक्रिया