काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता नेपाली तथा विदेशी नागरिकका आफन्तलाई डीएनए परीक्षणमार्फत शव तथा शरीरका अंगको पहिचान गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।
प्रहरीले बेपत्ता व्यक्तिको सबैभन्दा नजिकको रगतको नाता (फस्र्ट डिग्री रिलेटिभ) बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको ‘फ्रेस ब्लड’ नमुना संकलन गराउन अनुरोध गरेको हो।
नमुना दिन चाहने आफन्तले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।
बाढीपछि फेला परेका शव वा शरीरका कुनै अंग तथा भाग बेपत्ता व्यक्तिसँग सम्बन्धित हुन सक्ने अवस्थामा डीएनए परीक्षण गरी पहिचान तथा तुलना गर्न सकिने प्रहरीले जनाएको छ।
विदेशमा रहेका आफन्तको हकमा बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराई तुलना प्रयोजनका लागि त्यसको सफ्टकपी पठाउन सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाली तथा विदेशी नागरिक बेपत्ता भएका छन्।


प्रतिक्रिया