अलपत्र यात्रुलाई काठमाडौँ ल्याउन महानगरको निःशुल्क यातायात सेवा


काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ।

महानगरपालिकाले शुक्रबारदेखि एउटा सवारी साधनमार्फत सेवा सुरु गरेको थियो। पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाले जनाएको छ।

शनिबारदेखि दुईवटा सवारी साधन उद्धार सेवामा परिचालन गरिएको छ। तीमध्ये ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको बस यसअघि रसुवा–काठमाडौँ यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको थियो।

अर्को ०३० च ७३६४ नम्बरको १० सिट क्षमताको सवारी साधन छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरपालिकाको अनुरोधमा उपलब्ध गराएको हो।

निःशुल्क सेवाका सवारी साधन पहिचानका लागि अगाडि र पछाडि ब्यानर राखिएको छ। दुवै सवारी साधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ। आवश्यकताअनुसार सवारी साधनको संख्या बढाउने योजना महानगरको छ।

विपद् व्यवस्थापनमा परिचालित जनशक्तिलाई प्रोत्साहित गर्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले शनिबार सभा गृह पुगेर सेवामा खटिएका कर्मचारीलाई प्रोत्साहित गरेका थिए।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्म सञ्चालन हुनेछ। रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेर विपद्का कारण अलपत्र परेका र काठमाडौँ फर्कन चाहने व्यक्ति तथा प्रभावित क्षेत्रमा आफन्तको खोजीका लागि काठमाडौँबाट त्यता जानुपर्ने व्यक्तिलाई लक्षित गरी सेवा सञ्चालन गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाका अनुसार दुवै सवारी साधनले दैनिक दुईपटक यात्रु ओसार्नेछन्।