काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण भोटेकोसी र त्रिशूलीमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा फसेका १९१ जनाको शुक्रबार उद्धार गरिएको छ । सुरुङमा फसेका ती इञ्जिनियर, प्राविधिक र मजदुरलाई नेपाली सेनाको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
सेनाले शुक्रबार बिहानदेखि अपराह्नसम्म रसुवाको टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत इलाकाबाट ५६ जना विदेशीसहित ९०० जनाको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यही भदौ १० गतेदेखि हालसम्म स्थल र हवाई साधनमार्फत दुई हजार १०१ जनाको उद्धार गर्नु गरेको छ । काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग र हेलिकप्टरबाट राहत सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।
सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र त्रिशूलीमा ४५६ र धुन्चेमा १०५ गरी जम्मा ५६१ जनालाई आज स्वास्थ्य सेवा प्रदान गरेको छ । ती केन्द्रबाट हालसम्म एक हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
प्रभावित जिल्लामा करिब छ हजार ७०० भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपतकालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको छ ।
शनिबार नदी किनारामा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपतकालीन उपचारको निरन्तरता, मैलुङ, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका टनेलमा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धार र अवरुद्ध सडक सञ्चालनमा ल्याउन सैन्य शक्ति परिचालित हुनेछ ।

प्रतिक्रिया