वर्षाले क्षति पुगेपछि दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक


इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताए ।

अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ । क्षतिग्रस्त सडकको मर्मतसम्भार तथा पुन:स्थापनाको काम भइरहेकाले सडकलाई सुरक्षित र व्यवस्थित बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको अध्यक्ष नेम्बाङले बताए ।

“क्षतिग्रस्त सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो”, उनले भने, “अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन ।”

वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण विभिन्न स्थानमा जाम हुन थालेको छ । मर्मतसम्भारको काम नसकिएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीमा रोक लगाइएको अध्यक्ष नेम्बाङले बताए ।

दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन । हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यातायात तथा जनजीवन प्रभावित हुँदै आएको छ । सडक कालोपत्र नभएका कारण वर्षायाममा दमकदेखि चिसोपानीसम्म यात्रा गर्न कठिन हुने गरेको छ ।

सो सडकले सडक झापा र इलामलाई जोड्छ । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले आवतजावत गर्नुका साथै कृषि उत्पादन बजारसम्म लैजान यही सडक प्रयोग गर्दै आएका छन् । सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट छन् ।