धनकुटामा ट्रकबाट ६४७ किलो गाँजासहित दुईजना पक्राउ


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट ट्रकमा लुकाइछिपाइ ओसारपसार भइरहेको ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान करिब ५ः३० बजे कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरी लुकाइ राखिएको ४८ पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजाको कुल तौल ६४७ किलो रहेको छ।

प्रहरीले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहिदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।