चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता


चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्तासमेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिंक पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै, उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रूपमा २०० देखि लाखौँ रुपैयाँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।

अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिंक नखोल्नेजस्ता कार्यहरू गर्न उनले आग्रह गरे । उनले भने, ‘अनलाइनको माध्यमबाट ठगिएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।’

यस्तै, गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन् । १५ निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१/८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकी थियो ।