अन्तर्राष्ट्रिय ‘सन्त संसद’मा नेपालबाट जगद्गुरु महायोगी सिद्धबाबा


काठमाडौं । नेपालको सनातन आध्यात्मिक परम्पराले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण उपस्थिति जनाउने भएको छ। आगामी १४ अगस्ट २०२६ मा बेलायतको ह्यारो लिजर सेन्टर (बायरन हल), ह्यारो मा आयोजना हुने ऐतिहासिक ‘सन्त संसद’ मा नेपालका तर्फबाट श्रीराम ताराकब्रह्म पीठ, बराहक्षेत्र–चतराधामका पीठाधीश अनन्तश्री विभूषित जगद्गुरु महायोगी सिद्धबाबा सहभागी हुने कार्यक्रम तय भएको छ।

विश्वका विभिन्न देशबाट पूजनीय सन्त, आध्यात्मिक गुरु तथा विविध धार्मिक–सामाजिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहने उक्त सम्मेलनले मानवता, विश्वशान्ति, धार्मिक सद्भाव, सहअस्तित्व र ‘विविधतामा एकता’को सन्देश विश्व समुदायसमक्ष प्रवाह गर्ने लक्ष्य राखेको छ।

आयोजकका अनुसार सम्मेलनमा नेपालबाट एकमात्र आध्यात्मिक प्रतिनिधिका रूपमा जगद्गुरु महायोगी सिद्धबाबाको सहभागिता रहनेछ। उहाँको उपस्थिति केवल व्यक्तिगत सहभागिता नभई नेपालको सनातन आध्यात्मिक परम्परा, सांस्कृतिक पहिचान र वैदिक दर्शनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

आध्यात्मिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले राष्ट्रहरूबीच सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध विस्तार गर्नुका साथै विश्वशान्ति र मानवीय मूल्यको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। विशेषगरी नेपाललाई योग, तपस्या र सनातन आध्यात्मिक परम्पराको भूमि भनेर चिनाउने अभियानमा समेत यस सहभागिताले थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रम १४ अगस्ट २०२६ मा साँझ ५:०० बजेदेखि ८:०० बजेसम्म बेलायतको ह्यारो लिजर सेन्टर (बायरन हल) मा सञ्चालन हुनेछ। सम्मेलनमा विश्वभरका आध्यात्मिक नेतृत्वबीच अनुभव आदान–प्रदान, शान्ति र सहअस्तित्वका विषयमा विचार विमर्श तथा विश्व मानव समुदायलाई सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।

नेपालको आध्यात्मिक विरासतलाई विश्वसामु प्रस्तुत गर्ने यस ऐतिहासिक अवसरलाई धेरैले राष्ट्रिय गौरव र सनातन परम्पराको अन्तर्राष्ट्रिय सम्मानका रूपमा हेरेका छन्।