काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले मुद्दा लगाउँदा त नसकेको भन्दै अरूले पनि नसक्ने बताएका छन् ।
बिहीबार स्वदेश फर्केपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो । नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
देउवाले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए । उनले भने, ‘अदालतले मुद्दा नलगाउनु भन्दा पनि बलजफ्ती गरिएको छ, मुद्दा लगाएको छ । बदमासी गरेको छ। हामी यसको जवाफ भोलि दिनेछौँ । अदालतसम्म गएको छ, १० पटकसम्म आउनू भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन ।’

प्रतिक्रिया