नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भएपनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने बताए ।

समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ को महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकामा प्रशंसा गरे ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिनसक्ने बताए ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रतिष्ठानले लेखक साहित्यकार परिचयपत्र वितरण गरेर उपयोगी काम गरेको बताए । सभामा नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सभामा शुभकामना व्यक्त गरेका थिए ।
साहित्यकार परिचयपत्र वितरण
समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गरे । प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक÷साहित्यकार परिचयपत्र वितरण गरिएको थियो ।

प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए । सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना