के यो देशमा सरकार छ कि लुटको राज्य छ ?
(१) काठमाडौँमा जतिसुकै बेसर पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौँमा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरु केही किलो मलको लागि भीडमभीड गरेर लाममा घण्टौं बस्न बाध्य छन् । तैपनि मल छैन तर बच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । तर को अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।
(२) कोभिडको महामारी भारतमा छ । तर सुदूरपश्चिमाञ्चलबाट हजारौं युवाहरु कोरोना पीडित भारतमा जाँदै गरेको तस्बिर आजका छापाहरुमा छन् । डा. हेमराज पन्तले भने जस्तो यो भन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरि देशभित्रै बच्ने वतावरण किन बनाउन नसकेको ? के यो देशमा सरकार छ कि लुटको राज्य छ ?
(३) एकातिर पैसाको अभाव भनिन्छ भने अर्कोतिर मुआब्जासम्म वितरण नगरी कानुन बिपरित तीस अर्बको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लग्यो भन्ने खबर ब्याप्त छ । तर सरकार मौन छ हरियो मकैबारीमा पसेको साँढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ ।
अब तपाईं भन्नुस् नेपाली जनताकोबिरुद्ध नेपालमा को सक्रिय छ ?
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा ।