प्रदेश दुईलाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग
जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश दुईलाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसंग माग गरेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।
उनले भारतसंगको खुला सीमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।
मुख्यमन्त्री राउतले लकडाउनका कारण दैनिक जिवनयापनमा समस्या भोगीरहेका नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेपनि लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकार बाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।