स्वास्थ्य सामग्रीको छिटो व्यवस्थापन गर्न सरकारलाई स्वास्थ्य समितिको निर्देशन
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।
पिसिआर पिपिइ, मास्क, धरमल गर्न लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथासिघ्र गर्न समितिले सरकारलाई सुझाव दिएको हो । समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य विरामीहरुले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
सर्वसाधारणलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ । परीक्षणको दायरा तिव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।