बजेटकाबारेमा बोल्न नपाएको भन्दै संसद बैठकमा विरोध
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्न नदिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । बुधबारको बैठकमा सभामुख अग्नि सापकोटाले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको जानकारी गराउने वितिक्कै केही सांसदहरुले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख सापकोटाले दलीय आधारमा आएको नामका आधारमा बोल्न दिएको भन्दै उठेर विरोध गर्ने सांसदहरुलाई बस्न आग्रह गरेका थिए । उनले यस बिषयमा दलमा सम्पर्क गर्न सुझाव दिएका थिए ।
तर सांसदहरुले भने बोल्न पाउनुपर्ने भन्दै उठेर विरोध गरिरहे । सांसदहरुको विरोधका कारण संसदमा होहल्ला भएको थियो । केही मिनेटको विवादपछि सभामुख सापकोटाले सदनको कारवाही अघि बढाएका थिए ।