बुद्धिजीवी संगठनले भन्यो -सीमा विवाद अन्तर्राष्ट्रिय मञ्चमा लैजाऔं
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल बुद्धिजीवी संगठनले लिपुलेक लगायतका क्षेत्रमा देखिएको सीमा विवाद अन्तर्राष्ट्रिय मञ्चसम्म लगेर भए पनि समाधान खोज्नुपर्ने बताएको छ ।
संगठनका संयोजक डा दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले आइतबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चबाट सीमा समस्याको समाधान गर्न राष्ट्रिय एकताको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गरी आवश्यक पहल लिन आग्रह गरेको हो ।
संगठनले सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका आधारमा भारत सरकारसँग उच्च तहमा कुटनीतिक सम्वादमार्फत् मिचिएको नेपाली भूमि फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकहरुको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न, नेपाली भूमिभित्र अवैधानिक पूर्वाधार निर्माणको कार्य रोक्न र प्रबुद्ध समूहद्वारा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न माग पनि गरेको छ ।
दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर एकको गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती खडा गरेको संगठनले जनाएको छ ।