भारत सरकारलाई बिरोधपत्र पठाऔंः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय मिचाहा प्रवृत्तिविरुद्ध राष्ट्रसंघमा आवाज उठाउनुपर्ने बताएका छन् । शनिबार ट्वीट गर्दै अध्यक्ष थापाले नेपालीभूमि अतिक्रमणगरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सही भएको तर अब यसरी चुप लागेर बस्न नहुने बताएका हुन्।
थापाले लेखेका छन्, ‘नेपालीभूमि अतिक्रमण गरि बाटो बनाउने भारतीय मिचाहा प्रवृत्ति बिरुद्ध सरकारको वक्तव्य सही छ । सो भावना अनुरुप भारत सरकारलाई बिरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई बिरोध जनाउन र राष्ट्रिय सहमति कायम गरि राष्ट्रसंघमा आवाज उठाउने लगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु।’
भारतीय कदमको विरोध गर्दै सरकारले आपत्ति जनाएको छ । त्यस्तै विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनले शनिबार भारतीय कदमको विरोध गर्दै प्रदर्शन गरेका थिए । शुक्रबार भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको थियो ।