सरकारविरुद्ध मोर्चाबन्दी गरिएको भन्दै भ्रम फैलाइयोः राप्रपा नेता थापा
काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले आफ्नो निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पूर्वमाओवादी र नेपाली कांग्रेसको बैठक गराएको भन्ने समाचारको खण्डन गरेका छन् । केही अनलाईनले आफू विरुद्ध भ्रम फैलाएको भन्दै थापाले विज्ञप्तिमार्फत समाचारको खण्डन गरेका छन् ।
उनले महामारीविरुद्ध एकजुट हुनुपर्ने बेलामा भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै उनले आपत्ति जनाएका छन् । उनले भनेका छन्,जनता टाइम्स र दैनिकीका अनलाइन संस्करणमा मलाई र मेरो निवासलाई केन्द्र बिन्दु बनाएर पूर्व माओवादी र नेपाली कांग्रेस मिली सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यू विरुद्ध मेरो निवासमा बैठक बसी रणनीति तथा कार्यनीति तय भयो भनी प्रकाशित समाचार अत्यन्त कल्पनातीत, सफेद झूट, भ्रामक र प्रायोजित भएकाले म यस्तो कुसमाचारको निन्दा र भत्र्सना गर्दै खण्डन गर्दछु । र, यस्तो निन्दनीय एवं कपोलकल्पित पीत पत्रकारिता नगर्न, यस्तो पीत पत्रकारिता मार्फत् आम पाठक र जनताको सुसूचित हुने प्रजातान्त्रिक हक र अधिकार माथि खेलबाड नगर्न तथा कोरोनाको महामारीबाट जोगिन र जोगाउनमा खर्चिनु पर्ने ध्यान, साधन र समय यस्ता गलत विषयमा ध्यान केन्द्रित गराएर एउटा नागरिकको कर्तव्य र दायित्वबाट च्यूत नगराउन म सम्बद्ध सबै व्यक्तिहरुको ध्यानाकर्षण गराउँदछु ।’
थापाले राज्यको चौथो अंगलाई सकारात्मक रुपमा अघि बढ्न समेत आग्रह गरेका छन् ।