अब त देखे होलान् नि फुटाउन खोज्नेलेः राजेन्द्र महतो
काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले सरकारले पार्टी फुटाउन लक्षित गरेर ल्याएको अध्यादेशविरुद्ध आफूहरु एकजुट भएर देखाइदिएको भन्दै पार्टी नफुट्ने ठोकुवा गरे ।
राजपा र समाजवादी पार्टीलाई फुटाउने तयारी भएको समाचार आएपछि एकता प्रक्रियालाई टुङ्ग्याइदिनुपर्छ भनेर हिजो राति बसेर एकता प्रक्रियालाई टुङ्याएको उनले बताए ।
महतोले लोकतन्त्र दिवसमा सरकारबाट लोकतन्त्रमाथि संकट पैदा भएको र अस्थिरता निम्ताउने काम भएको आरोप लगाए । उनले यसको कुनै पनि हालतमा सामना गर्नुपर्ने र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने जिकिर गरे ।
महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको उनको भनाई थियो ।