नेकपाको सचिवालय बैठक केहीबेरमा बस्दै
काठमाडौँ । सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठक अहिले साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आजै मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानमा ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन।’ भनिएको छ।