संसदको उद्योग समितिले खाद्यान्नको आपूर्तिलगायतका बारेमा सरकारसँग जानकारी लिने
काठमाडौं । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लकडाउनपछि नेपालमा भएको खाद्यान्नको आपूर्ति तथा मौज्दातका बारेमा सरकारसंग जानकारी लिने भएको छ ।
आइतबार बसेको समितिको बैठकले आपूर्ति व्यवस्थाको अवस्थाका बारेमा कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति, उद्योग मन्त्रालय र सम्बन्धी निकायसंग छलफल गरि जानकारी लिने निर्णय गरेको हो । छलफलका लागि समितिले प्रतिनिधिमण्डल बनाउने र सम्बन्धीत निकायमा पुगी राय सुझाव र सल्लाहका साथै आवश्यक निर्णय गर्ने निर्णय गरिएको समिति सभापति बिमल श्रीवास्तावले जानकारी दिए ।
बैठकमा सांसदहरुले कोरोनाको संक्रमण अन्त्य हुने समय अनुमान गर्न नसक्ने भएकाले कम्तीमा पनि तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात राख्नुपर्ने सुझाव दिएका थिए । सांसद सोम प्रसाद पाण्डेले सर्वसाधारणहरु हिंडेरै घर जाने देखिएको र यसका कारण उनीहरुले दुःख पाएको भन्दै मजदुरहरुलाई व्यस्थित ढंगले गन्तव्यमा पुर्याउनुपर्ने बताए ।
त्यस्तै समितिका सदस्य भिमसेनदास प्रधानले उपत्यकामा घरभाडामा बस्ने व्यक्तिहरुको समस्या देखिएको भन्दै समाधान हुनुपर्ने बताए । सांसदहरुले विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउनका लागि छलफल सुरु गनुपर्ने, नेपाल र भारतको सीमामा रहेका नेपालीहरुलाई नेपाल स्वास्थ्य जाँच गरि नेपाल ल्याउनुपर्नेमा पनि जोड दिएका थिए । समिति बैठकले एलपी ग्याँसको आपूर्ति र वितरणमा देखिएको समस्याका बारेमा पनि सम्बन्धित निकायसंग छलफल गर्ने निर्णय गरेको छ ।