कोरोना नियन्त्रणका लागि नेपालमा चिनियाँ पद्धति लागू गर्न देश सफल हुनेछ भन्ने कुरामा विश्वास गर्न मुस्किल पर्दछः महामन्त्री सिंह



नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य
१. सरकारले देशभरि नै ‘लकडाउन’ लगाएको छ । सम्भवतः कोरोना भाइरसमाथिको रोकथामको लागि त्यो एउटा सबभन्दा प्रभावशाली माध्यम हो । त्यसकारण त्यसलाई दृढतापूर्वक लागू गर्नुपर्ने आवश्यकता छ ।

२. आज विश्वव्यापी रूपमा नै कोरोना भाइरसको खतरा देखापरेको भएपनि अहिलेसम्म नेपालमा स्थिति सामान्य नै छ । दुईचार जना मानिसहरूलाई त्यसको सङ्क्रमण हुनुलाई हामीले स्थिति गम्भीर भएको ठान्न हुँदैन । तर स्थिति अहिले जस्तै सामान्य रहिरहने छ भनेर ढुक्क रहनु पनि सही हुने छैन । त्यसकारण त्यो खतराको सामना गर्नको लागि हामीले गम्भीरतापूर्वक र उच्च स्तरीय तयारी गर्नुपर्दछ ।

३. अहिले इटली, स्पेन वा अमेरिका जस्ता विकसित देशहरूलाई पनि त्यसमाथि नियन्त्रण गर्न कठिन भइरहेको छ र स्थिति एकप्रकारले उनीहरूको वशभन्दा बाहिर हुँदै गइरहेको देखिन्छ । त्यो अवस्थामा नेपालमा कोरोना भाइरसको गम्भीर खतराका रूपमा सङ्क्रमण भयो भने त्यसको सामना गर्नु इटाली, स्पेन वा अमेरिका जस्ता देशहरूभन्दा कैयौँ गुणा बढी कठिन हुने छ । त्यसकारण त्यसलाई प्रवेश गर्न नदिनेतर्फ नै हामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने आवश्यकता छ र त्यसको लागि सबैभन्दा प्रभावशाली उपाय भनेको लकडाउन नै हो ।

४. अहिलेसम्म नेपालमा कोरोना भाइरसको जे–जति सङ्क्रमण भएको छ, त्यो विदेशबाट आएका व्यक्तिहरूबाट नै भएको छ । खास गरेर भारतबाट आउने मानिसहरू, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू नै हुन्छन्, बाट आउने मानिसहरूमाथि नियन्त्रण वा स्वास्थ्य परीक्षण पनि एउटा अत्यन्त आवश्यक कार्य भएको छ । त्यसकारण त्यहाँबाट आउने मानिसहरू बिना स्वास्थ्य परीक्षण वा क्बारेन्टाइनमा नबसीकन आफ्नो गाउँघरमा जान्छन् । त्यसबाट पनि कोरोना भाइरसको जोखिम धेरै नै बढ्ने सम्भावना छ । त्यसकारण भारतसितका सीमाबाट हुने आवागमनलाई रोक्न विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । सरकारले चिनियाँ मोडेलबाट कोरोना भाइरसका विरुद्ध लड्ने घोषणा गरेको छ । निश्चय नै चीनले त्यसमाथि जसरी विजय प्राप्त गर्‍यो, त्यो विश्वभरका लागि अनुकरणीय छ र त्यसको आधारमा त्यसमाथि (कोरोना भाइरस)माथि काफी हदसम्म नियन्त्रण गर्ने सम्भावना रहने छ । तर त्यसलाई सही अर्थमा बुझ्नुपर्ने र लागू गर्नुपर्ने आवश्यकता छ ।

५. चीनले खाली उच्च प्रकारको चिकित्सा प्रणालीका आधारमा मात्र होइन, त्यसका विरुद्ध सरकार, प्रशासन र जनतालाई व्यापक रूपले परिचालन, एकताबद्ध वा अनुशासित बनाएर नै त्यसमाथि विजय प्राप्त गर्न सकेको हो । चिनियाँ मोडलको सारतत्व त्यही हो । तर त्यो पक्षलाई कुशलतापूर्वक लागू गर्न विकसित पश्चिमी देशहरू पनि पछाडि परेको देखिन्छ । त्यही कारण हो कि ती देशहरूमा उच्च प्रकारको चिकित्सा प्रणाली र प्राविधिक विकासका बाबजुद चीनले जस्तै सफलतापूर्वक कोरोना भाइरसमाथि नियन्त्रण गर्न उनीहरूलाई अप्ठ्यारो परेको छ । प्रश्न यो छ कि नेपालले त्यो चिनियाँ पद्धतिलाई लागू गर्न सक्ने छ । त्यसबारे गम्भीर हुनका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

६. सरकार, सत्तारूढ दल वा प्रशासनको सम्पूर्ण कार्यप्रणाली तथा जनताको चेतना र अनुशासनको स्तर समेतमाथि विचार गर्दा नेपालमा चिनियाँ पद्धति लागू गर्ने वा त्यसद्वारा कोरोना भाइरसमाथि नियन्त्रण गर्न देश सफल हुनेछ भन्ने कुरामा विश्वास गर्न मुस्किल पर्दछ । तैपनि निराश हुनुपर्ने आवश्यकता छैन । हामीले आशा गर्नुपर्दछ, त्यो खतराले नै हाम्रो एकता र अनुशासनको स्तर उठाउँदै जानेछ, किनभने त्यसको अभावमा त्यसको (कोरोना भाइरसको) खतराबाट बचाउन हाम्रो लागि सम्भव हुनेछैन ।

७. कैयौँ देशहरूले कोरोना भाइरसबाट पीडित निम्नवर्गीय जनताका लागि विभिन्न प्रकारका प्याकेज कार्यक्रमहरूको घोषणा गरेका छन् । विश्वभर र नेपालमा पनि त्यो खतरा कति समयसम्म लम्बिने छ, निश्चित रूपले केही भन्नु सम्भव छैन । त्यसकारण निम्नवर्गीय जनताको राहतको लागि सरकारले प्याकेज कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।

. वास्तवमा त्यसप्रकारको राहत कार्यक्रम राष्ट्रिय स्तरमा नेपाल सरकारले मात्र चलाएर पुग्ने छैन । सार्क र संयुक्त राष्ट्रसङ्घले पनि कोरोनाद्वारा पीडित जनताको मद्दतका लागि कैयौँ कोषहरू संचालन गर्ने घोषणा गरेका छन् । त्यसप्रकारका अन्तर्राष्ट्रिय कोषहरूबाट पनि नेपालका उत्पीडित जनतालाई राहत पुर्‍याउनको लागि सरकारले कुटनीतिक स्तरमा पहल गर्नुपर्ने आवश्यकता छ ।

९. वास्तवमा अहिलेको कोरोना भाइरसको समस्या कुनै देशको राष्ट्रिय समस्या नभएर अन्तर्राष्ट्रिय समस्या हो । त्यसले पुर्‍याउने क्षति अन्तर्राष्ट्रिय, दीर्घकालिन र दुरगामी प्रकारको हुनेछ । त्यसकारण संसारका सबै देशहरूले आफ्नो देशको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नै एकतावद्ध भएर त्यसमाथि विजय प्राप्त गर्न सङ्गठित योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय स्तरमा नै पहल गर्नुपर्ने आवश्यकता छ ।

१०. नेपालमा सम्भावित कोरोना भाइरसको खतरामाथि ध्यान दिंदै चीनले औषधी र अन्य विभिन्न सामाग्रीहरू पठाउने जुन निर्णय गरेको छ, त्यसले चीनको नेपालप्रतिको उच्च मैत्रीपूर्ण भावनालाई बताउँछ । त्यसका लागि हामीले चीनको सरकारलाई धन्यवाद दिनुपर्दछ ।

११. आज राष्ट्रिय रूपमा नै देखापरेको सङ्कटको बेलामा को सरकरमा छ र को विपक्षमा छ वा विभिन्न राजनीतिक शक्तिहरूका बिचमा कुन प्रकारको मतभेदहरू छन्, तीमाथि ध्यान नदिइकन वा तिनीहरूबाटमाथि उठेर यो सङ्कटमाथि विजय प्राप्त गर्नका लागि एकतावद्ध हुनुपर्ने आवश्यकता छ ।

१२. कोरोना भाइरस वा त्यसबाट सम्भावित खतरामाथि नियन्त्रण गर्नका लागि सरकारले ज–ेजति पहलकदमी गरिरहेको छ, ती सकारात्मक छन् र सरकारका त्यसप्रकारका कार्यहरूलाई समर्थन गर्ने र तिनीहरूको कार्यान्वयनका लागि सम्भव भए जति वा सबै सम्भव तरिकाले मद्दत गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । साधन र स्रोतहरूको कमी तथा प्रशासनको पिछडिएको अवस्था, अस्पताल र उपचारको सीमित साधनहरू समेतमाथि ध्यान दिंदा हाम्रो देशमा कोरोना भाइरसले महामारीको रूप लियो भने त्यसको सामना गर्नु सजिलो हुनेछैन । त्यसकारण सम्भावित खतरामाथि ध्यान दिंदै हामीले उच्च स्तरमा आफ्नो तयारी गर्दै जानुपर्ने आवश्यकता छ । सरकारले त्यसका लागि बढीभन्दा बढी प्रयत्न गर्नुका साथै जनतालाई पनि व्यापक रूपले गोलबन्द गर्नुपर्ने आवश्यकता छ ।

१३. अहिले विश्वमा कोरोना भाइरसले जति गम्भीर र व्यापक रूप लिएको भएपनि त्यो अस्थायी कुरा हो र अन्तम ाहाम्रो त्यसमाथि विजय हुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ र सबैले यो कुरामाथि विश्वास गर्नुपर्दछ । मानवजातिले यसभन्दा पहिले पनि कैयौँ ठूलाठूला खतराहरूको सामना गर्दै र तिनीहरूमाथि विजय प्राप्त गर्दै आएको छ । त्यसकारण तत्कालीन रूपमा यो खतरा जति ठूलो देखिएपनि अन्तमा मानवजातिले त्यसमाथि विजय प्राप्त गर्ने कुरा निश्चित र अवश्यम्भावी छ ।

१४. कोरोना भाइरसमाथि विजय प्राप्त भएपनि आफ्ना पछाडि त्यसले दीर्घकालीन प्रकारका राजनीतिक, आर्थिक वा सामाजिक असरहरू छाडेर जानेछ । त्यसकारण कोरोना भाइरसको समस्याको समाधान भएपछि पनि त्यसले पुर्‍याएको क्षति पूरा गर्नको लागि लामो सङ्घर्ष वा पुर्ननिर्माण गर्नुपर्नेछ ।

१५. अहिले कोरोना भाइरसको उपरी प्रकारले छायाँ पर्दा पनि हाम्रो देश कतिकमजोर रहेछ, त्यो कुरा छर्लङ्ग भएको छ । एकातिर अन्य देशहरूबाट आयात बन्द हुँदा हाम्रो सम्पूर्ण अर्थतन्त्र वा जीवन नै धरापमा पर्ने जस्तो स्थिति उत्पन्न भएको छ । नेपालका शिक्षण संस्थाहरूले पैदा गर्ने शिक्षित समुदायले नेपालको उन्नतीमा जोड दिनुभन्दा विदेश गएर आफ्नो ‘क्यारियर’ बनाउनेतर्फ नै जोड दिन्छन् । नेपालको युवाशक्तिको पनि बढी जोड विदेशमा जाने नै हुन्छ । तर अहिले कोरोना भाइरसले देखाएको छ कि अन्तमा काम लाग्ने आफ्नै देश हो । त्यसकारण नेपालभित्रका र संसारभरका नेपालीहरूले त्यो कुरा बुझ्नुपर्ने आवश्यकता छ र कोरोना भाइरसको कारणले हामीले त्यो शिक्षा ग्रहण गर्‍यौँ भने पनि त्यो ठूलो उपलब्धी हुनेछ ।

१६. कोरोना भाइरसले हामीलाई यो पनि शिक्षा दिएको छ कि सधै आयातमाथि भर परेर होइन, आत्मनिर्भर भएपछि नै हाम्रो जीवनमा स्थायित्व र स्थिरता आउन सक्दछ । त्यसैले देशलाई आत्मनिर्भर बनाउनेतर्फ हाम्रो सबैभन्दा बढी जोड हुनुपर्दछ ।

१७. कोरोना भाइरसको पहिलो झोक्कामा नै हाम्रो देश जसरी धर्मराएको छ, त्यसले गतकालका सरकारहरूले देशको विकासका लागि सही नीति नअपनाएको कुरा प्रष्ट हुन्छ । आखिरमा कुनै देशको विकासमा निर्णयात्मक भूमिका सरकारको नै हुन्छ । तर सरकारलाई सही नीति अपनाउन र सही प्रकारले काम गर्न बाध्य गर्ने जिम्मेवारी बहुसङ्ख्यक जनताको नै हुन्छ । त्यसकारण हामीले आगामी दिनहरूमा सरकारको भूमिका गतकालकोभन्दा राम्रो होस् र त्यसले देशलाई आत्मनिर्भर बन्नको लागि सही भूमिका खेल्न सकोस् भन्नेतर्फ पनि विशेष जोड दिनुपर्ने आवश्यकता छ । अन्तमा विदेशबाट प्राप्त हुने सहायता वा आयातमाथि आश्रित भएर नै हामीले आफ्नो अस्तित्व बचाउन सक्दैनौँ भन्ने कुरामा हामी प्रष्ट हुनुपर्दछ ।

२०७६ चैत्र १५ गते

मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ

कोशी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै

  विराटनगर ।  कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने