चितवन । स्विट्जरल्यान्डको जेनेभामा विश्वका विभिन्न देशका प्रतिनिधिहरू भेला भइरहँदा त्यही मञ्चमा नेपालको आवाज पनि बुलन्द बन्यो। त्यो आवाज बनेकी थिइन् स्वाती थापा। नेपालबाट एकमात्र प्रतिनिधिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उभिएकी उनले नेपालको शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्का चुनौतीलाई विश्व समुदायसामु सशक्त रूपमा प्रस्तुत गरिन्।
EWBI द्वारा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै थापाले ‘शैक्षिक न्यायको सेतुका रूपमा कृत्रिम बुद्धिमत्ता’ (Artificial Intelligence as a Bridge to Educational Justice) विषयमा आफ्नो धारणा राखिन्। उनको प्रस्तुतिमा प्रविधिको सम्भावना मात्र थिएन, शिक्षाबाट टाढा रहेका बालबालिकाको सपना, अवसरको असमानता र शिक्षामा सबैको समान पहुँच हुनुपर्ने आवाज पनि समेटिएको थियो।
कृत्रिम बुद्धिमत्ता भविष्यको प्रविधि मात्र नभई शैक्षिक विभेद घटाउने र अवसरका ढोका खोल्ने माध्यम बन्न सक्ने उनको तर्क थियो। तर प्रविधिको विकाससँगै सक्षम शिक्षक, समावेशी शिक्षा र संस्थागत क्षमता अभिवृद्धि पनि उत्तिकै आवश्यक रहेको उनले औँल्याइन्।
थापाले विश्वमञ्चमा नेपालको अर्को यथार्थ पनि सुनाइन्—जलवायु परिवर्तन र प्राकृतिक विपद्ले निम्त्याएको पीडा। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित समुदायको अवस्थालाई जोड्दै उनले विपद्ले घर र बस्ती मात्रै होइन, बालबालिकाको पढाइ र भविष्यसमेत प्रभावित पार्ने गरेको विषय उठाइन्।
उनको प्रस्तुतिको मूल सन्देश थियो—विपद् आउन सक्छ, बस्ती उजाडिन सक्छन्, विद्यालयका ढोका बन्द हुन सक्छन्, तर बालबालिकाको सिक्ने अधिकार रोकिनु हुँदैन। त्यसका लागि जलवायु उत्थानशील शिक्षा प्रणाली, वैकल्पिक सिकाइ व्यवस्था र जोखिममा रहेका समुदायलाई लक्षित अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई सम्मेलनका मञ्चमा गरिने प्रतिबद्धतामा मात्रै सीमित नरहन आग्रह गर्दै सम्मेलनपछि पनि निरन्तरता पाउने सहकार्य, सहयोग र नागरिकको जीवनमा अनुभूति हुने परिवर्तनका लागि परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिइन्।
जेनेभाको त्यो मञ्चमा स्वातीले केवल एउटा विषयमा भाषण गरिनन्, नेपालका चुनौती, सम्भावना र अपेक्षालाई विश्वसामु राखिन्। प्रविधिको उज्यालो सबै बालबालिकासम्म पुग्नुपर्छ र विपद्को अँध्यारोमा कसैको भविष्य हराउनु हुँदैन भन्ने उनको सन्देशले नेपालको आवाजलाई अन्तर्राष्ट्रिय संवादसँग जोडेको छ।

प्रतिक्रिया