भारतसँग हवाई सम्झौता गर्दा नेपालले के पाउँछ, के गुमाउन सक्छ ?


-स्वागत नेपाल ।

नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अन्तर्राष्ट्रिय उडान सहज बनाउन भारतीय आकाश हुँदै हवाई प्रवेश मार्ग उपलब्ध गराउन माग गर्दै आएकोमा प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा सहमति गर्ने गरी भारतले पनि आफ्नो पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रतिप्रस्ताव राखेको सार्वजनिक भएको छ।

यसबाट नेपालले के पाउँछ, के गुमाउन सक्छ ? हेरौं
– नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अन्तर्राष्ट्रिय उडान सहज बनाउन भारतीय आकाश हुँदै हवाई प्रवेश मार्ग उपलब्ध गराउन माग गरेको मात्रै अहिलेसम्म सार्वजनिक भएको छ तर भारतले पनि आफ्नो पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव राखेको प्रकाशमा आएको छ । यसबाट नेपालबाट चाहिँ नेपाल बाहिर जाने होइन कि ईन्ट्री रुट वा प्रवेश गर्ने मात्र अर्थ बुझिन्छ तर भारतले दुवै।
अब, नेपालले भारतको प्रस्ताव स्वीकार गर्दा नेपाललाई के फाइदा हुन्छ र के बेफाइदा हुन सक्ला
फाइदाहरू–
१. दुई देशबीच पारस्परिक हवाई पहुँचको व्यवस्था विकास ।

२. नेपालले हवाई मार्ग प्रयोग शुल्क तथा सम्बन्धित हवाई सेवा शुल्कबाट आम्दानी गर्न सक्छ। यो रकम सम्झौता र उडानको संख्यामा निर्भर त हुने हो, यति नै भन्ने हुन्न ।

३. हवाई सम्पर्क तथा पर्यटन प्रवद्र्धनमा सहयोग होला जति होस् ।

४. यसलाई आधार बनाएर नेपालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतको आकाश हुँदै सीधा प्रवेश मार्ग पाउन कूटनीतिक दबाब र वार्ता अघि बढाउन सक्छ।

५. क्षेत्रीय सम्पर्क विस्तार हुन सक्छ।

सम्भावित बेफाइदा र जोखिमहरूः

१. हामीले आफ्नो आकाश प्रयोग गर्न अनुमति दिने तर बदलामा भैरहवाका लागि भारतको आकाश प्रयोग गर्ने अनुमति नपाउने अवस्था आउन सक्छ ।

२. भारतको बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुँदा त्यसले नेपालको पूर्वी तथा आसपासका क्षेत्रका विमानस्थलसँग यात्रु र हवाई बजारमा प्रतिस्पर्धा बढाउन सक्छ।

३. नेपाली आकाश प्रयोग गरेर भारतका विमानले छोटो र सहज अन्तर्राष्ट्रिय हवाई मार्ग प्राप्त गर्ने तर नेपालका विमानस्थलले अपेक्षित लाभ प्राप्त नगर्ने अवस्था आउन सक्छ।

४. नेपालले पहिले नै आफ्नो आकाश प्रयोग गर्न अनुमति दिइसकेपछि भैरहवाको हवाई प्रवेश मार्गका लागि भारतसँग वार्ता गर्दा नेपालको सौदाबाजी गर्ने क्षमता कमजोर हुन सक्छ ।

५. सम्झौतामा हवाई मार्ग, शुल्क, उडानको संख्या, अवधि र पुनरावलोकनका सर्त स्पष्ट नभए भविष्यमा नेपालको हितमा प्रतिकूल अवस्था सिर्जना हुन सक्छ।

त्यसैले नेपालले भारतसँग तलका बुँदा सुनिश्चित गरेर मात्र सहमति गर्नुपर्छ :

१. बागडोग्राका लागि नेपाली आकाश प्रयोग गर्न दिने विषय र भैरहवाका लागि भारतको आकाश प्रयोग गर्न दिने विषयलाई एउटै पारस्परिक सम्झौतामा जोड्नुपर्छ। उधारो गर्नु हुँदैन ।

२. भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई प्रवेश मार्गको सुनिश्चितता हुनुपर्छ।

३. दुवै देशले पाउने सुविधा, हवाई मार्ग प्रयोग शुल्क र अन्य आर्थिक लाभको पारदर्शी व्यवस्था हुनुपर्छ।

४. सम्झौताको अवधि, पुनरावलोकन, उडानको सीमा र आवश्यक परे सम्झौता संशोधन वा अन्त्य गर्ने व्यवस्था हुनुपर्छ।

५. नेपालको हवाई सुरक्षा, सार्वभौमिकता र राष्ट्रिय हितमा कुनै प्रतिकूल असर नपर्ने प्रत्याभूति हुनुपर्छ।

नेपालले आफ्नो आकाश भारतलाई प्रयोग गर्न दिनु आफैँमा गलत होइन। तर असमान(आर्थिक, भौतिक र सामरिक दृष्टिले असमान)हरु वीचमा समाजताको सिद्धान्त परम्परागत रुपमा लागू गरे असमान नै हुन्छ। त्यसैले भारतले आफ्नो आकाश नेपाललाई प्रयोग गर्न नदिने अवस्था आउनु हुँदैन। भारतले बागडोग्राका लागि नेपाली आकाश मागेको छ भने नेपालले भैरहवाका लागि मागेको भारतको आकाशको सुनिश्चितता के हो ?

बागडोग्राका उडानलाई नेपाली आकाश प्रयोग गर्न दिँदैमा भैरहवाका लागि भारतीय हवाई प्रवेश मार्ग स्वतः प्राप्त हुँदैन। त्यसका लागि छुट्टै प्राविधिक पक्ष पनि हेर्नपर्छ । यी सम्पूर्ण कुराहरु नहेरी हतारमा सम्झौता गरिएमा ‘बालेन सरकारले नेपाली आकाश बेच्यो’ भनेर नारा लाग्न थाल्ने छ।