कोप–३१ मा नगएको सांसद न्यौपानेको स्पष्टोक्ति, सूचीमा नाम राखिएकोप्रति आपत्ति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्की नगएको स्पष्ट पारेका छन् ।

सांसद न्यौपानेले विभिन्न सञ्चारमाध्यमले कोप–३१ मा सहभागी नेपाली सांसदहरूको सूचीमा आफ्नो नामसमेत समावेश गरेकोप्रति आपत्ति जनाउँदै आफू भ्रमणमा नगएको बताएका हुन् ।

उनका अनुसार प्रधानमन्त्री कार्यालय र वन तथा वातावरण मन्त्रालयको सचिवालयबाट छुट्टाछुट्टै फोनमार्फत सम्मेलनमा सहभागी हुन प्रस्ताव आएको थियो । तर, नोभेम्बर १० मा हुने ऊर्जा क्षेत्रसम्बन्धी साइड इभेन्टमा नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रस्तुति गर्ने अवसर सुनिश्चित भएमा र आफ्नै खर्चमा जान पाउने अवस्था भएमा मात्रै सहभागी हुने उनले बताएका थिए ।

सांसद न्यौपानेले सरकारी खर्चमा भ्रमण नगर्ने आफ्नो अडान रहेको उल्लेख गर्दै प्रस्तावित साइड इभेन्टमा प्रस्तुति दिने विषयमा प्रधानमन्त्री कार्यालयबाट समयमै औपचारिक पुष्टि प्राप्त नभएको बताएका छन् ।

यस्तो छ सांसद न्यौपानेको भनाई

‘कोप–३१ को भ्रमण सूचीमा मेरो नामबारे स्पष्ट पार्न चाहन्छु’
राष्ट्रिय स्वार्थका विषयमा सहभागिता महत्वपूर्ण हो, तर सहभागिताभन्दा पनि सहभागिताको उद्देश्य, भूमिका र योगदान महत्वपूर्ण हुन्छ । म, इन्जिनियर श्रीराम न्यौपाने, प्रतिनिधि सभा सदस्य, तनहुँ–२ लाई कोप–३१ (ऋइए–३१), टर्कीमा सहभागी हुन प्रधानमन्त्री कार्यालयको सचिवालय र वन तथा वातावरण मन्त्रालयको सचिवालयबाट छुट्टाछुट्टै फोनमार्फत प्रस्ताव आएको थियो । त्यस अवसरमा मैले आफ्नो धारणा स्पष्ट रूपमा राखेको थिएँ–नोभेम्बर १० मा आयोजना हुने ऊर्जा क्षेत्रसम्बन्धी क्ष्मभ भ्खभलत मा नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै प्रस्तुति गर्ने अवसर सुनिश्चित हुने र म आफ्नै व्यक्तिगत खर्चमा सहभागी हुन पाउने अवस्था भएमा मात्र म भ्रमणमा सहभागी हुन्छु। तर म सरकारी राज्यकोषको पैसाबाट नभइ आफ्नै खर्चमा जाने जानकारी गराएको थिएँ। अन्यथा सहभागी नहुने जानकारी गराएको थिएँ । मेरो यस अडानका पछाडि स्पष्ट उद्देश्य थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाममा औपचारिक उपस्थिति जनाउनु मात्र मेरो प्राथमिकता होइन। नेपालको ऊर्जा सम्भावना, जलवायु परिवर्तनका चुनौती र स्वच्छ ऊर्जामार्फत आर्थिक समृद्धिको सम्भावनालाई तथ्य, तर्क र नीतिगत दृष्टिकोणसहित विश्वसामु प्रस्तुत गर्नु मेरो प्राथमिकता हो ।

तर, समयको सीमितताका कारण प्रधानमन्त्री कार्यालयको सचिवालयबाट प्रस्तावित साइड इभेन्टमा नेपालको तर्फबाट प्रस्तुति गर्ने विषयमा समयमै औपचारिक पुष्टि प्राप्त हुन सकेन। साथै म २ दिन अघि तनहुँ–२ को घिसिङ र ऋषिङ गाउँपालिकामा जिल्लाका सीडीओ, कार्यालय प्रमुखहरु, जनप्रतिनिधि र पालिकाका जनता सहित पुर्व निर्धारित जनसंवाद कार्यक्रममा सहभागी थिएँ । त्यसैले मैले यस भ्रमणमा सहभागी नहुने निर्णय गरेँ ।

यसैबीच, कोप–३१ मा टर्की पुगेका नेपाली सांसदहरूको सूचीमा विभिन्न सञ्चारमाध्यमले मेरो नामसमेत समावेश गरी समाचार तथा सूचना सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक रूपमा गलत सन्देश नजाओस भन्ने उद्देश्यले यो स्पष्टोक्ति दिन आवश्यक ठानेको हुँ । मेरो सहभागिताको प्रस्ताव थियो, तर सहभागिताको उद्देश्य र भूमिका सुनिश्चित नभएकाले म भ्रमणमा गएको थिइन । यद्यपि, मैले उक्त साइड इभेन्टमा नेपालको तर्फबाट प्रस्तुत गर्ने उद्देश्यले तयार पारेको ऊर्जा सम्बन्धी मन्तव्य प्रधानमन्त्री कार्यालयको सचिवालयमा पठाइसकेको थिएँ । उक्त मन्तव्यलाई कुनै परिवर्तन नगरी यसै पोस्टसँग जस्ताको तस्तै सार्वजनिक गर्दैछु ।

मेरा लागि अन्तर्राष्ट्रिय भ्रमणभन्दा महत्वपूर्ण नेपालको राष्ट्रिय हित हो। राज्यको स्रोतसाधनको मितव्ययी उपयोग, व्यक्तिगत खर्चमा सहभागिताको प्रतिबद्धता र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षबाट ठोस नीतिगत योगदान गर्ने उद्देश्यप्रति म प्रतिबद्ध छु । मञ्चमा उपस्थित हुनु मात्र उपलब्धि होइन, नेपालको आवाज, दृष्टिकोण र सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा स्थापित गर्नु वास्तविक उपलब्धि हो।