एन्फाको निर्वाचनसम्बन्धी पुरानो निर्णय बदर


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि गरेको निर्वाचनसम्बन्धी निर्णय बदर गर्दै नयाँ निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले २०८२ पुस १६ गतेको निर्वाचनसम्बन्धी निर्णय बदर गर्ने निर्णय गरेको हो ।

बैठकले २०८२ वैशाख २६ गते धुलिखेलमा सम्पन्न एन्फाको नियमित साधारणसभाको म्यान्डेटअनुसार संघको विधानबमोजिम २०८३–२०८७ कार्यकालका लागि नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि आवश्यक स्वीकृति, एन्फामाथिको निलम्बन फुकुवा, संस्थागत स्वच्छता र स्वायत्त निर्णय कार्यान्वयनका लागि सबै पक्षसँग सहयोग गर्नसमेत एन्फाले आग्रह गरेको छ ।

बैठकले फिफा यू–१५ विश्व फुटबल फेस्टिभलमा प्रतिभा प्रदर्शन गरेको नेपाली टोलीको सम्मान तथा खेलाडीको प्रवद्र्धनका लागि आगामी माघमा एन्फा यू–१५ फेस्टिभल आयोजना गर्ने निर्णय पनि गरेको छ । उक्त फेस्टिभलको संयोजकमा उपाध्यक्ष विराटजंग शाहीलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, फिफा यू–१५ फेस्टिभलमा सहभागी भई उत्कृष्ट नतिजा निकाल्न सफल खेलाडी तथा प्रशिक्षकलाई जनही ५० हजार रुपैयाँ र अफिसियललाई जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकले निमित्त महासचिव दामोदर भट्टराई (बद्री) लाई एन्फा कार्यालय सञ्चालन, पत्राचार तथा नियमित प्रशासनिक गतिविधि सञ्चालन गर्ने अधिकार प्रदान गरेको छ । साथै, स्थगित अवस्थामा रहेको एन्फाको शनिबार प्रशिक्षण कार्यक्रम पुनः सञ्चालन गर्ने निर्णय गर्दै त्यसका लागि आवश्यक समिति गठन गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

एन्फाद्वारा सञ्चालित एकेडेमीहरूको अवस्था, सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमबारे प्रतिवेदन पेस गर्न पनि सचिवालयलाई निर्देशन दिइएको छ ।

यसैगरी, कात्तिक १३ गतेको कार्यसमिति बैठकको निर्णयअनुसार माग गरिएको विवरण अध्यक्ष र महासचिवबाट प्राप्त नभएको भन्दै तीन दिनभित्र सत्यतथ्य विवरण पेस गर्न पुनः अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले दशौं राष्ट्रिय खेल महोत्सवमा फुटबलतर्फका प्राविधिक विषयमा समन्वय गर्ने तथा एन्फाको नियमित कार्य सञ्चालनका लागि आवश्यक सामग्री फिर्ता गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।