काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।
टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी भएर मन्त्री खनाल शनिबार स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको अन्तिम सातामा हुने बैठक तथा वार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् ।
कोप–३१ मा नेपालले हिमाल तथा जलवायु परिवर्तन, जलवायु न्याय, अनुकूलन तथा हानि–नोक्सानीका लागि वित्तीय सहयोग र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाएको मन्त्रालयले जनाएको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई नोभेम्बर ९ मा सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्बाट जनजीवन, जीविकोपार्जन, भौतिक पूर्वाधार तथा पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
उनले कोप–३१ अन्तर्गत ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्ययोजना स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । साथै, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्न र जलवायु अनुकूलन तथा वित्तसम्बन्धी अन्तर्राष्ट्रिय ढाँचामा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।
नोभेम्बर १० मा अतिकम विकसित मुलुकहरूका तर्फबाट बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवादलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको असमानुपातिक असर भोगिरहेको बताएका थिए । उनले अनुकूलन वित्तमा सहज पहुँच, राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयन र स्थानीय समुदायको नेतृत्वमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।
नोभेम्बर ११ मा आयोजित अन्ताल्या शिखर सम्मेलनमा खनाल र कृषिमन्त्री गीता चौधरी सहभागी भएका थिए । सोही दिन पूर्वसूचना प्रणालीसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै खनालले हिमाली समुदायको जीवन रक्षाका लागि प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक रहेको बताएका थिए ।
नोभेम्बर १२ मा नेपाल, भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानको संयुक्त आयोजनामा भएको पर्वतीय मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि उनले सहभागिता जनाएका थिए । पर्वतीय क्षेत्रका समस्या विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउनुपर्नेमा उनले जोड दिएका थिए ।
सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था आईसीआईमोड र जोई इन्भारोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी कार्यक्रम आयोजना गरेको थियो ।
त्यस्तै, नेपाल मण्डपमा हिन्दुकुश हिमालय क्षेत्रमा क्षेत्रीय सहकार्यसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा खनालले साझा जलवायु चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, प्रविधि हस्तान्तरण तथा अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए ।
सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोस, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियो र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार नोभेम्बर ९ देखि १३ सम्म खनालले उद्घाटन सत्रमा सम्बोधन, अन्ताल्या शिखर सम्मेलनमा सहभागिता, छवटा उच्चस्तरीय तथा विषयगत कार्यक्रममा सम्बोधन, नेपाल मण्डप उद्घाटन र तीनवटा द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
मन्त्रालयले कोप–३१ मा नेपालको सहभागिताले हिमाली मुलुकका जलवायु चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न तथा जलवायु न्याय र वित्तीय सहयोगका विषयमा नेपालको धारणा स्पष्ट पार्न सहयोग पुगेको जनाएको छ । कोप–३१ नोभेम्बर २० सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया