दानबहादुर कार्की हटाउने खास कारण जनताले थाहा नपाउने ?


-भगवती न्यौपाने ।

गल्ती त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट पनि भएकै थिए । उहाँमाथि पनि हाम्रा कयौं प्रश्न छन् । सरकारले गैरकानुनी निर्देशन दिंदै गयो उहाँले मान्दै जानू भयो, कानुन होइन हुकुम मान्ने अवस्था बन्दै गयो । पछिल्ला दिनहरूमा सरकार थिति बसाल्न होइन बेथिति निम्त्याउन तल्लीन रह्यो । प्रहरी प्रशासनलाई मिसयुज गर्ने कामको उत्कर्षमै पुग्यो ।

आफ्नाहरुका बारेमा उठेका प्रश्न बिना छानबिन सामसुम पार्ने र अरुलाई बिना प्रमाण दुःख दिन थाले । मिडिया हाउस र राजनीतिक पार्टीका नेताका घरका गेट्मा गाडी तेर्साउने सरकारका मान्छे दोष पाउने प्रहरी भयो । सुनसरीको कप्तानगञ्ज र सर्लाहीमा गोली चल्यो, युवाहरुको ज्यान गयो दोष प्रहरीलाई नै लगाइयो जबकी भाद्र २३ मा चलेको गोलीबारे भने अहिले सरकारमा रहनेहरुले दोष तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई लगाएका थिए । समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ गरियो दोष प्रहरीलाई लगाइयो ।

प्रधानमन्त्रको सचिवालय नामको गिरोह छ, कर्मचारी र संवैधानिक आयोगका पदाधिकारीलाई गैरकानुनी काम गर्न मानसिक दबाब दिन्छ । पासपोर्ट छपाईको विषय होस् या मरिन डाइभर्सनको ठेक्का रद्धका सबाल किन नहोस् यी कुनै पनि घट्नाको गहिराईमा पुग्दा सुशासन होइन आफ्नो स्वार्थपुर्तीका लागि विशाल नेक्सस खडा गरि लुट धन्दा मच्चाउन खोजिएको छ ।
जनताले आफ्ना हरेक कदमलाई सुशासनको रुपमा बुझेर साथ दिन्छन् भन्ने बुझाइ प्रधानमन्त्री र प्रधानमन्त्रीको सचिवालयको रहेको छ । जनताको यो बुझाइ नै आफ्नालागि अनुकुल भएको निश्कर्षका कारण सरकार र सचिवालयमा रहेकाहरूको उन्माद बढेको छ ।

सरकारलाई खुसी बनाउने नाममा गलत हर्कतलाइ साथ दिंदै जाँदा आज त लाभ होला तर भोलि त्यसको हिसाब चुक्ता गर्न पर्छ नै । कहिलेसम्म गैरकानुनी हुकुम मान्ने भन्नेबारे प्रहरी संगठनमा पनि प्रश्न नउठ्ने कुरै भएन । बिस्तारै कुरा मिल्न छाड्दै जाने कुरा स्वाभाविक हो । भयो यही … दानबहादुर कार्की दोषी हुन् भने प्रमाणीत गरेर बर्खास्त गर्दा हुन्छ । दोषीका पक्षमा कोही उभिन्छ भने त्यतिबेला पक्षमा लाग्ने पनि भ्रष्ट नै हुन् । तर दोषी हुन पनि भन्न नसक्ने र १७ महिना बाँकी रहँदा प्रहरी महानिरीक्षक हटाउने यसको खास कारण जनताले थाहा नपाउने, यस्तो किन हुन्छ ?
न्यौपाने पूर्वमन्त्री हुन् ।