रास्वपा सांसद न्यौपानेको अपीलः देश बनाउने ठिक समय यतिबेलै हो, दलीय स्वार्थ त्यागेर अघि बढौँ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर देश निर्माण र प्रणाली सुधारको साझा अभियानमा जुट्न सबै राजनीतिक दलका नेताहरूलाई अपील गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी न्यौपानेले रवि लामिछाने, गगन थापा, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र प्रधानमन्त्री बालेन साहलाई लक्षित गर्दै देश बनाउने सही समय अहिले नै भएको बताएका हुन् ।

उनले एउटा जनप्रतिनिधिले राष्ट्रिय पोसाकमा हाइभिजन र हेल्मेट लगाएर बोल्नुपर्ने अवस्था सिर्जना हुनुले देशको सुरक्षा, स्वतन्त्रता र राज्यप्रतिको भरोसामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन् ।

सांसद न्यौपानेले देशलाई अर्को राजनीतिक प्रयोगभन्दा पनि विद्यमान राजनीतिक संस्कार, संरचना र कार्यशैलीमा आमूल सुधार आवश्यक रहेको बताएका छन् । उनले व्यक्ति परिवर्तन गरेर मात्र देश परिवर्तन सम्भव छैन नहुने भन्दै त्यसका लागि व्यक्ति, प्रवृत्ति, प्रणाली र कार्यसंस्कृतिमै सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तो छ सांसद न्यौपानेको भनाई

एउटा जनप्रतिनिधिले राष्ट्रिय पोसाकमा हाइभिजन र हेल्मेट लगाएर बोल्नुपर्ने अवस्था सिर्जना हुनु सामान्य विषय होइन; देशले महसुस गरिरहेको सुरक्षा, स्वतन्त्रता र राज्यप्रतिको भरोसामाथि गम्भीर प्रश्न उठेको संकेत हो ।

आदरणीय रवि, गगन, ओली, देउवा, प्रचण्ड, बालेन !
‘देश बनाउने ठिक समय यतिबेलै हो’

के अब पनि हामीले एकअर्कालाई दोषारोपण गरेर, खुट्टा तानेर र राजनीतिक प्रतिशोध साँधेर मात्रै देश चलाउने हो ? कि इतिहासले दिएको यो दुर्लभ अवसरलाई सदुपयोग गरेर देश बनाउने दिशामा अघि बढ्ने हो ? एउटा प्रश्न सबैले गम्भीरतापूर्वक सोच्न जरुरी छ– के नेपाललाई अब अर्को राजनीतिक प्रयोग चाहिएको हो, कि विद्यमान राजनीतिक संस्कार, संरचना र कार्यशैलीमा आमूल सुधार ?

देश बनाउने यो सही समय हो। यस्तो अवसर न हिजो आएको थियो, न भोलि फेरि यही रूपमा आउनेछ। जनताले ठूलो आशा, भरोसा र विश्वासका साथ आफ्नो मत परिवर्तन गरेका हुन्। यो मत कुनै व्यक्ति, दल वा गुटलाई दिएको स्थायी बपौती होइन, यो त परिवर्तन, सुशासन, समृद्धि र उत्तरदायित्वको पक्षमा जनताले दिएको ऐतिहासिक जनादेश हो। यसको अनादर गर्ने छुट कसैलाई छैन । छँदै छैन । हिजोको असफलताको समीक्षा गर्दा व्यक्ति मात्र होइन, प्रणाली पनि दोषी देखिन्छ। प्रणाली कमजोर हुँदा नेता स्वेच्छाचारी बने, संस्थाहरू प्रभावहीन भए, भ्रष्टाचार र अनियमितताले जरा गाडे, विसंगति र विकृतिहरू संस्थागत हुँदै गए। त्यसैले प्रश्न उठ्छ– के व्यक्ति फेरेर मात्र देश फेरिन्छ ? कि व्यक्ति, प्रवृत्ति, प्रणाली र कार्यसंस्कृति सबै सुधार्नुपर्छ ?

अब कम्तीमा एकपटक सबै राजनीतिक शक्ति, नेतृत्व र सरोकारवालाहरूले व्यक्तिगत तथा दलीय स्वार्थभन्दा माथि उठेर प्रणाली सुधारको साझा अभियानमा साथ दिनैपर्छ । यसको नेतृत्व बालेनले नै लिनुपर्छ। तर नेतृत्व लिनु भनेको आलोचनाभन्दा माथि हुनु होइन, जिम्मेवारी र जवाफदेहिताको उच्चतम मापदण्ड प्रस्तुत गर्नु हो। बालेनले पनि आफ्ना कार्यशैली, निर्णय प्रक्रिया, संवाद, समन्वय र संस्थागत व्यवहारमा आवश्यक सुधार गर्नैपर्छ। अरूले धेरै सुधार गर्नुपर्ने होला, बालेनले तुलनात्मक रूपमा थोरै सुधार गरे देश बनाउने हैसियत पुग्छ; तर नेतृत्वमा रहने व्यक्तिले सुधारको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने सत्य बिर्सन मिल्दैन।

पुरानादेखि नयाँ भनिएको मेरो आफ्नै पार्टी र राज्यका हरेक निकायसम्म बिचौलियापनको जालो फैलिएको छ। निर्णय प्रक्रियामा योग्यता र विधिभन्दा पहुँच, प्रभाव र स्वार्थ हावी हुने अवस्था अन्त्य नगरी सुशासनको कल्पना कसरी गर्न सकिन्छ? बिचौलियापनको अन्त्य अब विकल्प होइन, अनिवार्य सर्त हो । अर्को महत्वपूर्ण प्रश्न– नेपालको विकासको आफ्नै मोडेल खोइ? दशकौँदेखि सत्ता र प्रतिपक्षमा बसेका दल तथा नेताहरूले देशलाई आत्मनिर्भर र समृद्ध बनाउने दिगो विकासको स्पष्ट मार्गचित्र किन दिन सकेनन्? विकासका नाममा ऋण थप्ने, खर्च बढाउने र प्रतिफलको सुनिश्चितता नगर्ने प्रवृत्तिले देशलाई कहाँ पुर्याउँछ? करिब ३० खर्बको साँवा र ब्याजको दायित्व धान्नसमेत फेरि ऋण लिनुपर्ने चक्रबाट मुलुकलाई कसरी मुक्त गर्ने ?

अब भाषण होइन, उत्पादनमुखी अर्थतन्त्र चाहिएको छ। आयातमुखी होइन, आत्मनिर्भर अर्थतन्त्र चाहिएको छ। ऊर्जाको सन्तुलित उत्पादन, प्रभावकारी खपत र औद्योगिक उपयोगमा आधारित रोजगारीमुलक विकासको मोडेल चाहिएको छ। ऊर्जा उत्पादन गरेर मात्र पुग्दैन, त्यसलाई उद्योग, कृषि, यातायात र रोजगारी सिर्जनासँग जोड्न सक्नुपर्छ। विकासको प्रतिफल राजधानी र ठूला सहरमा मात्र होइन, जनताको घरदैलोसम्म पुग्नुपर्छ।

सुशासनको प्रत्याभूति, कानुनी शासनको सुनिश्चितता र कानुनका विरोधाभासपूर्ण तथा अस्पष्ट दफाहरूको स्पष्टता आजको अपरिहार्य आवश्यकता हो। कानुन सबैका लागि समान हुनुपर्छ। राज्य कुनै व्यक्ति वा दलको इच्छाअनुसार होइन, विधि, पद्धति र संस्थागत मर्यादा अनुसार चल्नुपर्छ।

त्यसका लागि नियुक्ति र जिम्मेवारी बाँडफाँटको मापदण्ड पनि बदल्नुपर्छ। अब आफ्नो मान्छे, आफ्नो दल, आफन्त, साथीभाइ वा गुटको मान्छे खोज्ने परिपाटी अन्त्य हुनुपर्दैन? जिम्मेवारी दिँदा राजनीतिक निकटता होइन, योग्यता, क्षमता, दक्षता, अनुभव, इमानदारी र विज्ञता मात्र होइन विगतको सफलताको गाथालाई हेरेर प्राथमिकता दिन सकिँदैन? योग्य व्यक्तिलाई उचित जिम्मेवारी र परिणामका आधारमा मूल्याङ्कन गर्ने संस्कार विकास गर्न सकिँदैन?

गगन, ओली, प्रचण्ड, देउवा, रवि र बालेन– राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर राष्ट्रको भविष्यभन्दा ठूलो कुनै दल, नेता वा व्यक्तिगत महत्त्वाकाङ्क्षा हुन सक्छ र ? असहमतिका बीच सहकार्य गर्न सकिँदैन ? फरक विचार राख्दैमा राष्ट्र निर्माणको साझा अभियानमा अवरोध गर्नैपर्छ र ? बालेनलाई असफल हुने छुट छैन। तर बालेन सफल हुनु भनेको कुनै एक व्यक्ति वा समूहको विजय होइन, नेपाली जनताको आशा र विश्वासको विजय हो । त्यसैले बालेनको नेतृत्वलाई सकारात्मक रूपमा स्वीकार्दै आवश्यक प्रश्न, सुझाव, आलोचना र सहयोग सहित सबै शक्ति प्रणाली सुधारको साझा अभियानमा जोडिनुपर्छ ।

अन्यथा, एकले अर्कालाई खुट्टा तान्ने, राजनीतिक रूपमा सिध्याउने र असफलताको प्रतीक्षामा बस्ने प्रवृत्तिले देशलाई फेरि अस्थिरता, निराशा र परनिर्भरताको दलदलमा धकेल्नेछ। त्यसको फाइदा अन्ततः अरूले उठाउनेछन् र नेपाल विदेशी शक्तिहरूको स्वार्थको क्रीडास्थल बन्ने जोखिम झन् बढ्नेछ। हामीलाई अब व्यक्ति पूज्ने राजनीति होइन, संस्थागत प्रणाली चाहिएको छ। प्रतिशोधको राजनीति होइन, प्रतिस्पर्धासहितको सहकार्य चाहिएको छ। सत्ताको भागबन्डा होइन, जिम्मेवारीको न्यायोचित बाँडफाँट चाहिएको छ। आश्वासन होइन, परिणाम चाहिएको छ।

अन्ततः प्रश्न एउटै छ– हामी देश बनाउने पुस्ता बन्ने कि एकअर्कालाई असफल बनाउँदै देश बिगार्ने पुस्ता ? अबको साझा उद्देश्य स्पष्ट हुनुपर्छ– साझा परराष्ट्र नीति, ऋणको चक्रबाट मुक्ति, आत्मनिर्भर नेपाल, ऊर्जामा आधारित उद्योग मार्फत उत्पादनमूलक अर्थतन्त्र, तीव्र विकास, रोजगारी सिर्जना, प्रभावकारी सेवा प्रवाह र वास्तविक सुशासन।

 यो समय कसैले कसैलाई हराउने होइन, देशलाई जिताउने समय हो। कसैको राजनीतिक भविष्य सुरक्षित गर्ने होइन, आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने समय हो । नेता धेरै भए, दल धेरै भए, सरकार धेरै बने, अब देश बनाउने एउटा साझा राष्ट्रिय संकल्प चाहिन्छ । आउनुहोस्, व्यक्तिगत र दलीय अहंकार त्यागौँ। नेतृत्वलाई जिम्मेवार बनाऔँ, प्रणालीलाई पारदर्शी बनाऔँ र योग्यतालाई सम्मान गरौँ। इतिहासले दिएको यो अवसरलाई आपसी द्वन्द्वमा खेर नफालौँ। किनकी देश असफल भयो भने कुनै नेता सफल भएको अर्थ रहँदैन । तर देश सफल भयो भने त्यसको श्रेय सबै नेता र नेपालीले पाउनेछन् ।
धन्यवाद ।
जय ऊर्जा ! जय नेपाल !