काठमाडौं । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने गरी मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गरेको छ ।
सरकारले टर्कीमा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा बाँडफाँटसम्बन्धी कारबाही टुंग्याउनुपर्ने अवधि थप गर्ने निर्णय गरेको छ । यसअनुसार निवेदन दिने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँटको कारबाही सम्पन्न गर्ने अवधि २०८६ असार मसान्तसम्म थप गरिनेछ ।
यसैगरी, बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया