काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यसैगरी, बैठकले मोही जग्गाको समस्या समाधानका लागि म्याद थप गर्ने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ साल कात्तिकसम्म र त्यस्तो जग्गाको कारबाही टुंगो लगाइसक्नुपर्ने अवधि २०८६ साल असारसम्म थप गर्ने निर्णय भएको छ ।
यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न सरकारले स्वीकृति दिएको छ । त्यस्तै बैठकले कृषि क्षेत्रलाई व्यवस्थित गर्न नानो फर्टिलाइजर, बायो स्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै मल नियन्त्रण आदेशसमेत स्वीकृत गरेको छ ।
बैठकले कोप–३१ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ जनाको प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी हुने मन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया