संसद् बाहिरका संवेदनशील विषयको निकास संसद्भित्रै खोज्न सभामुखलाई आङ्देम्बेको आग्रह, संसद बैठक छिटो बोलाउन माग


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गरेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको थियो ।

भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराएका छन् ।

सोमबारको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सकारका विवादित सबै विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो ।

त्यस्तै कांग्रेसको अगुवाईमा बसेको प्रतिपक्षी दलको बैठकले पनि तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको थियो । सभामुखसँगको भेटमा यी विषय कुराकानी भएको आङ्देम्बेले जानकारी दिएका छन् ।

उनले संसद् बाहिर धेरै संवेदनशील विषयहरू उठिरहेकाले त्यसको निकास संसद्भित्रैबाट खोज्नुपर्ने सभामुखलाई बताएको जानकारी दिए ।
उनले भने, ‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल वा भूमरी जस्तो बनाउनुभन्दा संसद्भित्रै छलफल गराउनुपर्छ र संसद्को बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ ।’

उनले प्रेसमाथि भइरहेको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा स्वयं प्रधानमन्त्री जोडिएका विषयहरूमा संसद्मा छलफल आवश्यक भएको बताए ।