तातो हावाका लहरले विश्वभरका गर्भवती महिलालाई कसरी जोखिममा पार्दैछन् ?


रोयटर्स । विश्वका विभिन्न भागमा गरिएका पछिल्ला अध्ययनहरूले गर्मीका लहरले गर्भवती महिला र उनीहरूको गर्भमा हुर्किरहेका शिशुको स्वास्थ्यमा गम्भीर असर पार्ने देखाएका छन् । चिकित्सकहरूलाई समेत आश्चर्यमा पार्ने गरी सार्वजनिक भएका अध्ययनअनुसार अत्यधिक तापक्रमले जन्मजात शारीरिक समस्या, गर्भपतनदेखि समयअगावै शिशु जन्मिने जोखिमसम्म बढाउँछ । स्वास्थ्यकर्मीहरूले यो जोखिमबारे बुझ्न भर्खरै मात्र सुरु गरेका छन् । तर, उनीहरूले यस विषयमा ध्यान दिँदा पनि प्रायः अत्यधिक गर्मीलाई मात्र केन्द्रमा राख्ने गरेका छन् ।

तापक्रम बढ्दा चिसो क्षेत्रका गर्भवती महिला पनि जोखिममा

वैज्ञानिक अध्ययनले देखाएको तथ्य भने यतिमा सीमित छैन । विश्वका सबैभन्दा गर्मी हुने मरुभूमि क्षेत्रमा बस्ने महिलाहरू मात्रै जोखिममा छैनन् । समशीतोष्ण तथा चिसो हावापानी भएका क्षेत्रमा बस्ने एक अर्बभन्दा बढी महिला पनि गर्मीको जोखिममा रहेको अनुसन्धानले देखाएको छ । यसको कारण तापक्रम अत्यधिक तातो हुनैपर्छ भन्ने छैन । कुनै क्षेत्रको सामान्य तापक्रमभन्दा केही मात्र बढे पनि गर्भावस्थामा जोखिम बढ्न सक्छ ।

दक्षिण अफ्रिकाकी अनुसन्धानकर्ता लखुको गर्भावस्थामा गर्मीले कति भूमिका खेल्यो भन्ने यकिन गर्न सकिँदैन । तर, पहिले नै स्वास्थ्य जोखिम भएका महिलाका लागि गर्मीको खतरा अझ बढी हुने अध्ययनले देखाएका छन् । लखुको गर्भावस्था पनि सुरुदेखि नै एउटा स्वास्थ्य अवस्थाका कारण जटिल बनेको थियो । विश्वभरका महिलाका लागि गर्मीको जोखिम झन् बढ्दै गएको छ । रोयटर्सको अनुसन्धानअनुसार पछिल्ला साढे ६ दशकमा गर्मीका लहरहरू छिटपुट र सीमित क्षेत्रका घटनाबाट विकसित हुँदै विशाल प्राकृतिक घटनामा परिणत भएका छन् । रोयटर्सले यस्ता विशाल घटनालाई ‘हिट स्टर्म’ अर्थात् भीषण तातो हावाको लहर नाम दिएको छ ।

जलवायु वैज्ञानिकसँगको परामर्शमा रोयटर्सले तयार पारेको परिभाषाअनुसार कुनै क्षेत्रमा ऐतिहासिक तापक्रमको उच्चतम १० प्रतिशतभित्र पर्ने तापक्रम लगातार पाँच दिनसम्म कायम रहेमा त्यसलाई ‘हिट वेभ’ अर्थात् गर्मीको लहर भनिन्छ ।
यस्ता गर्मीका लहरमध्ये चरम अवस्थामा पृथ्वीको कम्तीमा एक प्रतिशत भूभाग (क्यानडाको करिब आधा क्षेत्रफल बराबर) ढाक्ने घटनालाई ‘हिट स्टर्म’ भनिएको छ ।

यस्ता घटनाले गर्भवती महिला र गर्भमा रहेका शिशुलाई विशेष जोखिममा पार्छन् । उदाहरणका लागि, मेक्सिकोमा लाखौँ जन्मसम्बन्धी अभिलेखको विश्लेषण गर्दा गर्भावस्थाको अन्तिम महिनामा भीषण गर्मी वा सामान्य गर्मीका लहर देखिँदा समयअगावै शिशु जन्मिने दर १८ प्रतिशतसम्म बढेको पाइएको छ ।

गर्मीका यस्ता घटनाको आकार र संख्या दुवै तीव्र गतिमा बढिरहेका छन् । सन् १९६० को दशकमा जम्मा ५० वटा हिट स्टर्म देखिएका थिए । त्यतिबेलाको सबैभन्दा ठूलो घटनाले पृथ्वीको करिब ६ प्रतिशत भूभाग मात्र ढाकेको थियो ।
तर, यस दशकमा अहिलेसम्म ६६५ भन्दा बढी यस्ता घटना भइसकेका छन् । सबैभन्दा ठूलो हिट स्टर्म आफ्नो एक वर्ष लामो अवधिमा पृथ्वीको करिब ८५ प्रतिशत भूभागमा फैलिएको थियो । यसबाट अनुसन्धानकर्ता लखुसहित विश्वभरका मानिस प्रभावित भएका थिए ।

समयअगावै जन्मदेखि प्रि–एक्लेम्पसियासम्मको जोखिम
जोहानेसबर्गका बाक्लो बस्तीमा बस्ने बिरामीको उपचार गर्ने युवा चिकित्सकका रूपमा काम गर्दा र पछि स्वास्थ्य अनुसन्धानकर्ताका रूपमा कार्यरत रहँदा लखुलाई जनसंख्या वृद्धिले विश्वका धेरै समस्या निम्त्याइरहेको विश्वास थियो । त्यसैले आफूले पनि मातृत्वमार्फत जनसंख्या बढाउने सोच उनलाई अपराधबोधजस्तो लाग्थ्यो । तर, बच्चा जन्माउने चाहना भने बढ्दै गयो ।

आफ्नो जीवनसाथीसँग बच्चा जन्माउने निर्णय गर्दा लखु दक्षिण अफ्रिकाको विटवाटर्सरान्ड विश्वविद्यालयसँग आबद्ध अनुसन्धान टोलीमा चिकित्सक अनुसन्धानकर्ताका रूपमा काम गरिरहेकी थिइन् । उनी र उनका सहकर्मी गर्भवती महिलामा गर्मीले पार्ने असरबारे अध्ययन गरिरहेका थिए ।

पछिल्लो डेढ दशकमा पृथ्वीको तापक्रम बढ्दै जाँदा र विश्वभर तापक्रमका कीर्तिमान बारम्बार तोडिँदै जाँदा गर्भावस्थामा गर्मीले पार्ने अप्रत्याशित असरबारे विभिन्न अध्ययन हुन थाले । त्यसपछि यस विषयमा अनुसन्धानको क्रम तीव्र भयो । लखु र उनका सहकर्मीले करिब २०० वैज्ञानिक अध्ययनको समीक्षा गरी तिनका निष्कर्ष एकीकृत गरेका थिए ।

गर्भावस्थालाई जोखिममा पार्ने तापक्रमको निश्चित सीमा कति हो भन्ने विषयमा अनुसन्धानकर्ताहरूबीच फरक मत छ । एउटा प्रमुख अध्ययनले विश्वव्यापी रूपमा ३० डिग्री सेल्सियसलाई जोखिम बढ्न थाल्ने तापक्रम मानेको छ । अर्को अध्ययनले १४ वटा कम आय भएका देशमा योभन्दा कम तापक्रममै समयअगावै जन्म र मृत शिशु जन्मिने जोखिम देखिन थालेको पाएको छ ।
लखु र उनको टोलीले भने महिलाले सामान्यतया अनुभव गर्ने तापक्रम नै महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन् । गर्भवती महिला बस्ने क्षेत्रमा औसत तापक्रम एक डिग्री सेल्सियसले बढ्दा त्यसपछिका केही सातामा मृत शिशु जन्मिने जोखिम उल्लेख्य रूपमा बढ्ने उनीहरूको अध्ययनले देखाएको छ ।

टोलीले समीक्षा गरेका अध्ययनअनुसार तापक्रम बढ्दै जाँदा जन्मजात शारीरिक समस्या, गर्भपतन र साल (प्लेसेन्टा) छुट्टिने जोखिम पनि बढ्छ । त्यसैगरी, आमामा उच्च रक्तचाप र प्रि–एक्लेम्पसिया हुने सम्भावना बढ्छ । प्रि–एक्लेम्पसिया गर्भावस्थामा देखिने गम्भीर समस्या हो, जसले मिर्गौला फेल हुने, हृदयाघात र मस्तिष्कघातसम्म गराउन सक्छ ।

विश्वभर हुने मातृमृत्युमध्ये सातमध्ये एकभन्दा बढी मृत्युको कारण प्रि–एक्लेम्पसिया रहेको छ । चीनका २० लाख महिलालाई समेटेर गरिएको एउटा अध्ययनले असामान्य रूपमा उच्च तापक्रमसँग प्रि–एक्लेम्पसियाको जोखिम १३ प्रतिशतले बढेको सम्बन्ध देखाएको छ । गर्मीले स्वस्थ गर्भवती महिलालाई समेत असर गर्न सक्छ । तर, यसले महिलामा पहिलेदेखि रहेका सामाजिक र जैविक जोखिमलाई थप बढाउने काम गर्छ ।

अध्ययनअनुसार गरिब, बढी उमेरका, धूमपान गर्ने, चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेका तथा दीर्घरोग भएका महिलामा गर्मीका कारण गर्भावस्थासम्बन्धी जोखिम बढी हुन्छ । लखुको टोलीको नेतृत्व गरिरहेका तथा विटवाटर्सरान्ड विश्वविद्यालयमा मातृस्वास्थ्य र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान प्राध्यापक म्याथ्यु चर्सिचले जुम्ल्याहा गर्भावस्थालाई पनि गर्मीको उच्च जोखिममा रहेको बताएका छन् । उनका अनुसार जुम्ल्याहा गर्भावस्था गर्मीप्रति निकै संवेदनशील हुन्छ ।
गर्मीका लहरले समयअगावै शिशु जन्मिने जोखिम बढाउँछन्

गर्मीका लहर विशेष चिन्ताको विषय बनेका छन् । गर्भवती महिलाले बसोबास गर्ने क्षेत्रमा औसत तापक्रम एक डिग्री सेल्सियस बढ्दा त्यसपछिका साताहरूमा मृत शिशु जन्मिने जोखिम उल्लेख्य रूपमा बढ्ने अध्ययनले देखाएको छ । न्युयोर्कमा गर्मीका लहर देखिँदा गर्भपतन, मधुमेह र उच्च रक्तचापका समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा पुग्ने गर्भवती महिलाको संख्या बढेको पाइएको छ । त्यस्तै, दृष्टिविहीन बनाउन सक्ने मोतिबिन्दुसहित जन्मिने शिशुको संख्या पनि बढेको अध्ययनले देखाएको छ ।

ब्राजिलमा गर्मीका लहरसँग गर्भवती महिलाको अस्पताल भर्ना बढेको सम्बन्ध देखिएको छ भने भारतमा नवजात शिशु सघन उपचार कक्षमा भर्ना हुने दर बढेको पाइएको छ । लखु र उनका सहकर्मीको अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष भने गर्मी बढेसँगै समयअगावै शिशु जन्मिने जोखिम बढ्नु हो । समयअगावै जन्मिएका शिशुमा जीवनभर असर गर्न सक्ने स्वास्थ्य समस्या देखिन सक्छन् । तीमध्ये शारीरिक वृद्धि सुस्त हुनु, गम्भीर दम, बौद्धिक अपाङ्गता र मस्तिष्क पक्षाघातलगायत समस्या छन् ।

चार महादेशका अध्ययन विश्लेषण गर्दा गर्भवती महिला बस्ने क्षेत्रमा औसत तापक्रम प्रत्येक एक डिग्री सेल्सियस बढ्दा त्यसपछिका दिनमा समयअगावै शिशु जन्मिने सम्भावना चार प्रतिशतले बढ्ने पाइएको छ । त्यस्तै, गर्मीको लहर समाप्त भएको एक साताभित्र समयअगावै शिशु जन्मिने सम्भावना २६ प्रतिशतले बढ्ने लखु र उनका सहकर्मीले पाएका छन् । रोयटर्सले मेक्सिकोमा सन् २००८ देखि २०२५ सम्मका ८० लाखभन्दा बढी जन्मसम्बन्धी अभिलेखको पनि यस्तै विश्लेषण गरेको थियो । उक्त तथ्यांकमा आमाको उमेरबाहेक मधुमेह, उच्च रक्तचाप वा सामाजिक–आर्थिक अवस्थाजस्ता पहिलेदेखिका जोखिमबारे विस्तृत विवरण थिएन । तर, मरुभूमिदेखि ओसिला जंगल र समशीतोष्ण पहाडी क्षेत्रसम्म फैलिएको मेक्सिकोका विभिन्न क्षेत्रका जन्मसम्बन्धी विवरण समेटिएकाले अनुसन्धानकर्ताले प्रत्येक क्षेत्रको सबैभन्दा गर्मी हुने मौसममा भएका जन्मको अध्ययन गरेका थिए ।

विभिन्न भौगोलिक क्षेत्रमा सामान्यभन्दा बढी तापक्रमले प्रभाव पारेको देखियो । बच्चा जन्मिनुभन्दा अघिका चार सातामा भीषण गर्मी वा सामान्य गर्मीका लहर देखिँदा समयअगावै शिशु जन्मिने दर करिब ६.५ प्रतिशतले बढेको पाइयो । यसको अर्थ मेक्सिकोमा प्रत्येक वर्ष गर्मीको मौसममा मात्रै १ हजार ४०० भन्दा बढी शिशु समयअगावै जन्मिने गरेका छन् । महिलाले गर्मीको सामना गर्ने समय र तीव्रता बढ्दै जाँदा जोखिम पनि बढ्ने देखिएको छ । सामान्य गर्मीको प्रभाव हुँदा समयअगावै जन्मिने दर करिब चार प्रतिशत बढ्छ भने सबैभन्दा बढी गर्मीको जोखिममा यो दर १८ प्रतिशतसम्म पुग्छ ।

गर्भमा जुम्ल्याहा शिशु, बाहिर ७४ दिनको भीषण गर्मी

गर्भधारणको प्रयास सुरु गरेको केही सातामै लखुले आफ्नो जीवनसाथी मार्क रोबिन्सनलाई गर्भ परीक्षण सकारात्मक आएको देखाइन् । दुई महिना पुगेपछि स्त्रीरोग विशेषज्ञले उनको पेटमा अल्ट्रासाउन्ड उपकरण चलाइन् । नजिकैको स्क्रिनमा कालो र सेतो तस्बिर देखियो । चिकित्सक केही बेर रोकिइन् र थप परीक्षण गर्नुपर्ने बताइन् । लखुले आफूले त्यतिबेला खुट्टा काँपिरहेको महसुस गरेको बताएकी छन् । अल्ट्रासाउन्डमा दुईवटा शिशु देखिए । जुम्ल्याहा गर्भ रहेको थाहा पाएपछि लखु एकातिर खुसी भइन् भने अर्कोतिर चिन्तित पनि । दुई शिशु बोकेर गर्भावस्था पूरा गर्नुपर्ने भएकाले समयअगावै जन्मिने जोखिम बढी हुने उनलाई थाहा थियो ।

त्यतिबेला दक्षिण अफ्रिकासहित विश्वले अहिलेसम्मकै सबैभन्दा गर्मी वर्षको सामना गरिरहेको थियो । वर्षा रोकिँदा जोहानेसबर्गका धेरै क्षेत्रमा खानेपानीको अभाव भयो । समुद्री सतहबाट एक माइलभन्दा बढी उचाइमा रहेको जोहानेसबर्गमा सामान्यतया उचाइका कारण गर्मीको प्रभाव कम हुने भए पनि अत्यधिक गर्मीका कारण मानिसलाई घरबाहिर ननिस्कन नगर अधिकारीहरूले चेतावनी दिएका थिए ।

दक्षिणी अफ्रिकाले एक शताब्दीकै सबैभन्दा खराब खडेरीको सामना गर्दा मकैका बोटहरू सुके । गर्मीका कारण लु लाग्ने, शरीरमा पानीको कमी हुने, मांसपेशी बाउँडिने र मृत्युसमेत हुन सक्ने भन्दै केही विद्यालयका कक्षाकोठा बन्द गरिए । देशका उपराष्ट्रपति पनि भाषण गरिरहेका बेला गर्मीका कारण बेहोस भएका थिए ।

रोयटर्सको विश्लेषणअनुसार लखुको गर्भावस्थामा जोहानेसबर्गमा ७४ दिन भीषण गर्मीको अवस्था थियो । यो पूर्ण गर्भावस्थाको एक चौथाइभन्दा बढी समय हो । उनको घरनजिकैको तापक्रम मापन केन्द्रको तथ्यांकअनुसार उनले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएका करिब ३० दिन बिताएकी थिइन् । तीमध्ये आधाभन्दा बढी दिन गर्भावस्थाको अन्तिम महिनामा परेका थिए ।

गर्मीका कारण राति सुत्नसमेत कठिन भएपछि उनले आफ्नो जीवनसाथीलाई ओछ्यानबाट बाहिर जान लगाउने प्रयास गरेको बताइन् । कहिलेकाहीँ सास फेर्नसमेत थकाइ लाग्ने अवस्था भएको उनको भनाइ छ । लखुको टोलीका प्रमुख चर्सिचले भने, ‘के हुन लागेको छ भन्ने हामीले देखिरहेका थियौँ । उनी आफूले अनुसन्धान गरिरहेको समस्याको उच्च जोखिममा रहेको जान्दथिन् ।’ लखुको गर्भावस्था चलिरहँदा चर्सिचले उनलाई एउटा उपहार पठाए । त्यो थियो, बोक्न मिल्ने एयर कन्डिसनर ।

गर्भवती महिलालाई गर्मीबाट जोगाउने प्रभावकारी उपायबारे पर्याप्त अनुसन्धान नभए पनि एयर कन्डिसनरलाई बलियो सुरक्षाका रूपमा हेरिन्छ । यसले जुम्ल्याहा शिशुलाई गर्भमै थप एक साता वा त्योभन्दा बढी समय सुरक्षित राख्न सक्ने उनको आशा थियो । चर्सिचले भने, ‘एयर कन्डिसनर जीवन बचाउने उपकरण हो । उनले आफैँ किन किन्न सकिनन् भन्ने मैले बुझ्न सकिनँ ।’

तर, लखुले उक्त उपकरण कमै प्रयोग गरिन् । आफ्नो सामान्य अनुसन्धानकर्ताको तलबबाट त्यसको विद्युत् खर्च धान्न कठिन हुने उनको भनाइ थियो । साथै, उनले यसअघि कहिल्यै एयर कन्डिसनर प्रयोग गरेकी थिइनन् । उनको अनुसन्धान गरिब महिलाहरूमा केन्द्रित थियो । आफूलाई उनीहरूजस्तो जोखिममा रहेको महसुस पनि उनले गरेकी थिइनन् । त्यसबेला उनको ध्यान गर्मीभन्दा पनि जुम्ल्याहा गर्भावस्थाका चुनौतीमा बढी थियो । हरेक साता उनी प्रसूति विशेषज्ञसँग स्वास्थ्य परीक्षण गराउँथिन् ।

लखु र उनले रोयटर्सलाई उपलब्ध गराएका स्वास्थ्य अभिलेखअनुसार गर्भावस्थाको तीन महिना पुग्दा चिकित्सकले सालमा रक्तप्रवाह असामान्य रहेको पत्ता लगाएका थिए । आठ महिनामा उनको रक्तचाप बढेको देखिएपछि त्यसलाई नियन्त्रण गर्न औषधि सुरु गरियो । त्यसको एक सातापछि पिसाबमा प्रोटिन देखियो, जुन प्रि–एक्लेम्पसियाको संकेत थियो । अनुसन्धानअनुसार तापक्रम बढ्दै जाँदा यी सबै समस्या देखिने सम्भावना पनि बढ्छ ।

नोभेम्बरको पहिलो साता जोहानेसबर्गमा मौसमभन्दा अस्वाभाविक रूपमा गर्मी बढेको थियो । त्यही समयमा उनका जुम्ल्याहा शिशुको वृद्धि रोकियो । जुम्ल्याहा गर्भावस्थामा कहिलेकाहीँ यस्तो समस्या देखिन्छ । चिकित्सकले समयअगावै शल्यक्रिया गरेर बच्चा निकाल्ने योजना बनाए । तर, त्यसअघि नै उनको गर्भको पानी फुट्यो ।जीवनसाथी रोबिन्सनले उनलाई तत्काल अस्पताल पुर्याए । चिकित्सकले शिशु निकाल्दा उनीहरूको छाला नीलो र खैरो देखिएको थियो । रोबिन्सनले उनीहरूलाई ‘सुपरमार्केटमा राखिएका जमेको कुखुराजस्तै’ देखिएको सम्झिए । शिशुहरू यति समयअगावै जन्मिएका थिए कि उनीहरूलाई सास फेर्नसमेत सहयोग आवश्यक परेको थियो ।

नर्सहरूले जुम्ल्याहा शिशुलाई सघन उपचार कक्षमा लगे भने लखुलाई प्रसूति वार्डमा राखियो । उनको कोठाको एउटा कुनामा खाली शिशु राख्ने खाट थियो । बाहिर करिडोरमा अन्य आमाका बच्चा रोइरहेको आवाज सुनिन्थ्यो । गर्मी र जटिल गर्भावस्थाबीच बलियो सम्बन्ध देखिए पनि लखुको गर्भावस्थामा जस्तै कुनै एउटा घटनामा गर्मी नै प्रत्यक्ष कारण थियो भन्न सकिँदैन । जुम्ल्याहा गर्भ भएकै कारण उनीमा जटिलता र समयअगावै जन्मिने जोखिम पहिले नै बढी थियो । तर, उच्च तापक्रमले पहिलेदेखिका जोखिमलाई झन् बढाउने कुरा उनलाई आफ्नो अनुसन्धानबाट थाहा थियो । आफ्नो अनुभवबारे उनले भनिन्, ‘गर्मीले बच्चा जन्मिने मिति अझ नजिक ल्याइदियो ।’

मेक्सिकोको राजधानीमा वसन्तयाममा बढ्यो जटिलता

सन् २०२४ को फेब्रुअरीमा जोहानेसबर्गमा लखुको गर्भावस्थाका क्रममा देखिएको विशाल गर्मीको लहर मेक्सिको सिटीमा पनि फैलिएको थियो । त्यसले अर्को करिब पाँच महिनासम्म राजधानीलाई प्रभावित बनायो । समुद्री सतहबाट २ हजार २४० मिटर उचाइमा रहेको मेक्सिको सिटी सामान्यतया अत्यधिक तापक्रमबाट सुरक्षित मानिन्छ । तर, त्यस वर्षको वसन्तमा गर्मीले राजधानीका तापक्रमसम्बन्धी सबै कीर्तिमान तोड्यो । मे महिनामा तापक्रम ३४.७ डिग्री सेल्सियससम्म पुग्यो ।

मेक्सिको सिटीको १७९ वर्ष पुरानो जुआरेज अस्पतालका चिकित्सक जुआन रिभेरो कोरोना गर्भवती महिलामा प्रि–एक्लेम्पसिया र उच्च रक्तचापसम्बन्धी अन्य समस्या बढिरहेको देख्न थाले । उनको नेतृत्वमा रहेको स्त्रीरोग तथा प्रसूति विभागमा राजधानी र आसपासका राज्यबाट जटिल अवस्थाका बिरामी आउने गर्छन् ।

उनले गर्भवती महिलामा साल समयअगावै छुट्टिने गम्भीर समस्या पनि बढेको बताए । यस्तो अवस्थामा आमालाई रक्तस्राव हुन्छ र गर्भमा रहेको शिशुको मुटुको धड्कन तीव्र रूपमा घट्न सक्छ । यस्तो अवस्थामा आमा र शिशुको जीवन बचाउन चिकित्सकसँग शल्यक्रिया गर्ने केही मिनेट मात्रै हुन्छ ।सुरुमा उनले उमेर, मोटोपना वा मधुमेहका कारण यस्तो समस्या बढेको हुन सक्ने ठाने । पछि गर्मीको पनि भूमिका हुन सक्ने आशंका गरे । लामो समय गर्मीमा बस चढेर अस्पताल आइपुगेका केही गर्भवती महिलाको अनुहार रातो देखिने र सास फेर्न कठिन हुने गरेको थियो । उनीहरूको रक्तचाप यति उच्च हुन्थ्यो कि नर्सहरूले स्वास्थ्य परीक्षण गर्नुअघि केही समय चिसो ठाउँमा बस्न लगाउँथे ।

त्यसपछि रिभेरोले बिरामीलाई पर्याप्त पानी पिउन र खुकुलो कपडा लगाउन सुझाव दिन थाले । अस्पतालले गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि बिहानको चिसो समय रोज्यो । अन्ततः उनले अस्पतालका अभिलेख अध्ययन गरे । त्यस क्रममा मेक्सिकोको राजधानीमा सबैभन्दा गर्मी हुने वसन्तयाममा उच्च रक्तचापसम्बन्धी समस्या, साल अचानक छुट्टिने घटना र समयअगावै शिशु जन्मिने दर लगातार बढेको पत्ता लाग्यो ।

मेक्सिकोको दक्षिणी राज्य चियापासको समशीतोष्ण पहाडी क्षेत्रमा पनि रोयटर्सको विश्लेषणले यस्तै अवस्था देखाएको छ । गर्भावस्थाको अन्तिम महिनामा गर्मीको मौसममा भीषण गर्मी वा सामान्य गर्मीका लहरको सामना गरेका महिलामा समयअगावै शिशु जन्मिने दर करिब ९.६ प्रतिशत बढेको पाइएको छ । त्यहाँकी २८ वर्षीया लिन्डा लोपेजले यस गर्मीयाममा अत्यधिक गर्मी महसुस गर्न थालेकी थिइन् । वर्षायाममा पानी ढिलो परेको थियो र क्षेत्रमा तापक्रम २८.५ डिग्री सेल्सियससम्म पुगेको थियो । आगामी जनवरीमा बच्चा जन्माउने तयारीमा रहेकी लोपेजले गर्मीकै कारण श्रीमानसँगै कफी बारीमा काम गर्न छाडिन् ।
उनीहरू नियमित रूपमा धाई अमालिया सान्चेजकहाँ स्वास्थ्य परीक्षणका लागि जान्थे । सान्चेजले लोपेजको पेट दुखाइ कम गर्न मालिस गर्थिन् । साथै, पिसाबनलीको संक्रमण भएको ठहर गर्दै त्यसको उपचारका लागि माराभिया फूलको सेतो पातबाट चिया बनाएर दिने गर्थिन् । पिसाबनलीको संक्रमण शरीरमा पानीको कमीका कारण पनि हुन सक्छ ।

लोपेजले आफ्नो गर्भावस्थाको ८० प्रतिशतभन्दा बढी समय भीषण गर्मीको सामना गर्दै बिताएकी थिइन् । ५० वर्षभन्दा बढी समयदेखि सुत्केरी गराउँदै आएकी सान्चेजले रोयटर्ससँग भनिन्, ‘आमाले जे भोग्छिन्, बच्चाले पनि त्यसको पीडा भोग्छ ।’

रगत र आमाको दूधबाट गर्मीको असर अध्ययन

गर्मीले गर्भावस्थामा पार्ने असरबारे धेरै कुरा अझै वैज्ञानिकहरूले बुझ्न सकेका छैनन् । यसले गर्भवती महिलालाई आफू र आफ्नो शिशुलाई जोगाउन थप कठिन बनाएको छ । उदाहरणका लागि, मेक्सिकोभरि गरिएको रोयटर्सको विश्लेषणले गर्मीका लहर र समयअगावै शिशु जन्मिने दरबीच बलियो सम्बन्ध देखाएको छ । तर, बाजा क्यालिफोर्नियाजस्ता केही राज्यमा भने यस्तो दरमा खासै परिवर्तन देखिएन ।

गर्भवती महिलाले गर्मीलाई कसरी अनुभव गर्छन् भन्ने कुरा विभिन्न पक्षमा निर्भर हुन्छ । महिलाको उमेर, शरीरको आकार, आद्र्रता, हावाको गति, एयर कन्डिसनरको उपलब्धता र घरको बनावटले समेत यसमा प्रभाव पार्न सक्छ । गर्मीको लहरले गर्भावस्थाको कुन समयमा सबैभन्दा बढी जोखिम निम्त्याउँछ भन्ने कुरा पनि समस्याअनुसार फरक हुन्छ । गर्भावस्थाको सुरुवाती समयमा गर्मीका लहर देखिँदा जन्मजात शारीरिक समस्या र उच्च रक्तचाप बढ्न सक्ने अध्ययनले देखाएका छन् । बच्चा जन्मिनुअघिको अन्तिम सातामा तापक्रम बढ्दा मृत शिशु जन्मिने जोखिम बढ्न सक्छ । समयअगावै शिशु जन्मिने विषयमा भने अध्ययनका निष्कर्ष फरक छन् । धेरै अध्ययनले बच्चा जन्मिनुअघिका केही सातालाई सबैभन्दा संवेदनशील मानेका छन् भने अन्य अनुसन्धानले गर्भावस्थाका विभिन्न चरणमा जोखिम हुन सक्ने देखाएका छन् । गर्मीले गर्भावस्थामा ठ्याक्कै कसरी असर गर्छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।

केही वैज्ञानिकका अनुसार उच्च तापक्रममा आमाको शरीर चिसो राख्न सालबाट रगतको प्रवाह घटाएर शरीरका अन्य भागमा पठाइन्छ । यसले गर्भमा रहेको शिशुको मुटुमा दबाब बढाउन सक्छ । अन्य अनुसन्धानकर्ताले गर्मीले महत्त्वपूर्ण हर्मोनको निष्कासनमा असर पार्न वा गर्भमा शिशुका अंगहरू विकास भइरहेका बेला जीनको कार्यप्रणालीमा अवरोध पुर्याउन सक्ने अनुमान गरेका छन् ।

जोहानेसबर्गको राहिमा मुसा अस्पतालमा गर्मीले गर्भावस्थामा पार्ने असरबारे अध्ययन भइरहेको छ । यो अस्पताल सुविधासम्पन्न क्षेत्रमा बस्ने अधिकांश गोरा समुदाय र बाक्लो बस्तीमा बस्ने अधिकांश अश्वेत समुदायबीच अवस्थित छ । यहाँ दैनिक गर्भवती महिलाहरू अस्पतालको भुइँतलामा रहेका विभिन्न कोठामा पुग्छन् । उनीहरूलाई गर्मीले पार्न सक्ने असरबारे जानकारी दिइन्छ र अनुसन्धानमा सहभागी हुन आग्रह गरिन्छ ।

अनुसन्धानमा सहभागी ३० वर्षीया एनकाजिमुलो एनकिवानेले गर्भावस्थाको गर्मीयाममा लगातार टाउको दुख्ने र राति सुत्नै नसक्ने गरी गर्मी हुने गरेको बताइन् । उनी आफूले सरसफाइको काम गर्ने घरनजिकैको एउटा कोठामा भाडामा बस्थिन् । गर्मीबाट राहत पाउन उनी हावा लाग्ने आशामा साँघुरो घरको ढोकामा बसेर समय बिताउँथिन् । कहिलेकाहीँ गर्मी सहन नसकेर रुने गरेको पनि उनले बताइन् । अध्ययनमा सहभागी अन्य धेरै महिलाजस्तै एनकिवानेलाई पनि गर्मीले आफू र बच्चाको स्वास्थ्यमा असर पार्न सक्छ भन्ने थाहा थिएन । गर्भावस्था अघि बढ्दै जाँदा अस्पतालका नर्सहरूले उनको रक्तचाप बढिरहेको पत्ता लगाए । उनले त्यसलाई तापक्रमसँग सम्बन्धित भएको ठानिन् । अन्ततः चिकित्सकले समयअगावै शल्यक्रिया गरेर बच्चा निकाले । शल्यक्रियाको अनुभवबारे उनले भनिन्, ‘अत्यधिक पीडा भएको थियो ।’ तर, उनको बच्चा जीवित रह्यो ।

राहिमा मुसा अस्पतालको अनुसन्धानको नेतृत्व गरिरहेकी चिकित्सक रेनाटे स्ट्रेलाउले आफ्नो टोलीको कामलाई एचआईभी महामारीको सुरुवाती अध्ययनसँग तुलना गरेकी छन् । उनले भनिन्, ‘वास्तविकताभन्दा विज्ञान धेरै पछाडि थियो । गर्मीका विषयमा पनि अहिले हामीले त्यस्तै अवस्था देखिरहेका छौँ ।’

स्ट्रेलाउको अध्ययनमा सहभागी आमाहरूले दैनिक रूपमा आफूले सामना गरेको तापक्रम मापन गर्ने उपकरण बोक्छन् । उनीहरू घरको अवस्थाबारे जानकारी दिन र विभिन्न स्वास्थ्य परीक्षण गराउन बच्चा जन्माउनुअघि र पछि नियमित अस्पताल आउँछन् । अनुसन्धानका क्रममा आमाको दूध, साल र नाभीको डोरीसमेत संकलन गरिन्छ । यी नमुनामा शरीरको सूजन, हर्मोनको उच्च स्तर, मिर्गौलासम्बन्धी समस्या, मेटाबोलिक जटिलता तथा शरीरका लागि प्रोटिन उत्पादन गर्ने कोषिकामा हुने परिवर्तनको अध्ययन गरिन्छ ।

यसबाट गर्मीले गर्भवती महिला र शिशुलाई कसरी असर गर्छ भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ । स्ट्रेलाउले थप ज्ञान र जनचेतनाबाट गर्मीका कारण हुने गम्भीर असर कम गर्न सकिने विश्वास व्यक्त गरेकी छन् । तर, त्यसका लागि ठूलो परिवर्तन आवश्यक रहेको उनी र लखुको धारणा छ । स्ट्रेलाउका अनुसार गर्भवती महिलालाई गर्मीबाट जोगाउनुपर्छ । नर्सहरूले मदिरा सेवनबारे सोधेजस्तै नियमित रूपमा तापक्रम र गर्मीको जोखिमबारे पनि सोध्नुपर्छ । रक्तचाप बढ्नेजस्ता गर्मीको प्रभाव देखिए तत्काल उपचारका लागि पठाउनुपर्छ ।

लखुले यसमा थप जोड दिँदै सुत्केरीपछि मात्रै होइन, गर्भावस्थामै महिलाले बिदा लिन सक्ने गरी मातृत्व बिदासम्बन्धी नीति बनाउनुपर्ने बताएकी छन् । महिलालाई निःशुल्क पिउने पानी र मोबाइल शीतलता केन्द्रको व्यवस्था पनि आवश्यक रहेको उनको भनाइ छ । तर, हिट स्टर्मको संख्या बढ्दै जाँदा आमा र चिकित्सकले मात्रै यसको प्रभाव रोक्न सक्ने अवस्था नरहेको उनीहरूले स्वीकार गरेका छन् ।

दक्षिण अफ्रिका सरकारको तथ्यांकअनुसार त्यहाँका करिब ७.५ प्रतिशत घरधुरीमा मात्रै एयर कन्डिसनर छ । दैनिक एक करोड मानिस मिनीबसबाट यात्रा गर्छन् । हालैको अनुसन्धानअनुसार ती भीडभाडयुक्त मिनीबसको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

एयर कन्डिसनरको सहारामा गर्भावस्था

अमेरिकाको मियामी गर्मीका भीषण लहरको अग्रपंक्तिमा रहेको सहर हो । रोयटर्सको विश्लेषणअनुसार सन् १९६० को दशकमा मियामीमा १६ दिन मात्रै हिट स्टर्म देखिएको थियो । तर, यस दशकमा अहिलेसम्म एक हजारभन्दा बढी दिन यस्तो अवस्था देखिएको छ । अमेरिकाका प्रमुख सहरमध्ये यो सबैभन्दा धेरै प्रभावित हुने सहरमध्ये एक हो । बढ्दो गर्मी र लखुलगायतका अनुसन्धानकर्ताको अध्ययनबाट प्रभावित भएर स्थानीय चिकित्सक चेरिल होल्डरले गर्भवती महिलालाई अत्यधिक तापक्रमबाट जोगाउने अभियान सुरु गरिन् । फ्लोरिडा क्लिनिसियन्स फर क्लाइमेट एक्सनकी सहअध्यक्षसमेत रहेकी चिकित्सक होल्डरले गर्भवती महिलालाई गर्मीबाट जोगाउन सहयोग गर्ने डुलाहरूलाई तालिम दिन थालिन् । पहिलो बैठकमा उनले करिब २० जना इच्छुक डुलालाई गर्मीले गर्भवती महिलामा पार्ने जोखिमबारे जानकारी दिइन् । त्यसपछि सहभागीहरूले आफ्ना अनुभव सुनाउन थाले । होल्डरले भनिन्, ‘उनीहरूले आफ्ना सेवाग्राहीमा पनि यस्तो समस्या देखिरहेका थिए ।’

होल्डरको टोलीले मियामीभरिका गर्भवती महिलालाई गर्मीका खतराबारे सचेत गराउन थाल्यो । उनीहरूसँग कुरा गर्दा अधिकांशलाई गर्मी गर्भावस्थाका लागि जोखिमपूर्ण हुन सक्छ भन्ने जानकारी नै थिएन । टोलीले महिलालाई पानीका बोतल, पानीमा भिजाएर टाउको र घाँटीमा बेर्न मिल्ने तौलिया, छाता र विद्युतीय पंखा वितरण गर्न थाल्यो । केही महिलालाई एयर कन्डिसनरसमेत उपलब्ध गराइयो ।

होल्डर र डुलाहरू आर्थिक रूपमा कमजोर महिलालाई जोगाउन प्रयासरत रहँदा सम्पन्न महिलाहरूले भने आफैँलाई सुरक्षित राख्ने उपाय अपनाइरहेका थिए । अगस्ट महिनामा ४४ वर्षीया भ्यालेन्टिना पत्रुनो मियामीको पश्चिमी क्षेत्रमा रहेको आधुनिक अपार्टमेन्टमा बसेर आफ्नो उमेरमा फेरि बच्चा जन्माउन लागेकोमा आश्चर्य व्यक्त गरिरहेकी थिइन् । उनले भनिन्, ‘यो भगवानले दिनुभएको उपहार हो ।’ तर, गर्भवती भएपछि उनलाई गर्मीको चिन्ता हुन थाल्यो । उनकी डुलाले गर्मीले बच्चालाई असर गर्न सक्ने चेतावनी दिएकी थिइन् ।

उनका श्रीमान् लुइगी गुटिरेजका अनुसार गर्मीयाम सुरु भएसँगै चिन्ता झन् बढ्यो । उनले भने, ‘यहाँ मियामीमा दुईवटा मात्रै मौसम छन्– एउटा राम्रो र अर्को नर्कजस्तै ।’ पत्रुनोले घरबाहिर बिताउने समय निकै कम गरिन् । यसअघि नजिकैको चरा संरक्षण क्षेत्रमा घुम्न जाने वा मियामीका समुद्री तटमा जाने उनको नियमित बानी थियो । तर, गर्भावस्थामा उनी राति मात्रै समुद्री तट जान्थिन् । घाम नदेखिने गरी बादल लागेको दिनमा मात्रै हिँड्न निस्कन्थिन् । त्यस्तो अवस्थामा पनि केही मिनेटमै पेट अत्यधिक तातिएको महसुस हुने र उनी घरभित्र फर्किन्थिन् । उनले आफ्नो जीवनशैलीलाई ‘एयर कन्डिसनरभित्रको जीवन’ भनेकी छन् । यो समाचार प्रकाशित हुनुभन्दा केही घण्टाअघि उनले निर्धारित मितिभन्दा एक दिनअघि नै शिशुलाई जन्म दिएकी थिइन् ।

गर्मीसँगै बाँच्न सिक्दै

लखुले शिशु जन्माएपछि उनीहरूलाई हेर्न यति आतुर थिइन् कि नवजात शिशुको सघन उपचार कक्षमा जान नर्सहरूलाई आफ्नो शरीरमा राखिएको क्याथेटर हटाउन आग्रह गरिन् । उनका जुम्ल्याहा शिशुलाई आफ्नै बलमा नियमित रूपमा सास फेर्न सक्ने अवस्थामा पुग्न केही साता लाग्यो । अन्ततः उनीहरूलाई काखमा लिन अनुमति दिइएपछि लखु दुवै शिशुको इन्क्युबेटरबीच बसिन् । नर्सले शिशुको शरीरमा जोडिएका विभिन्न पाइप हटाएर उनको छातीमा राखिन् र मुटुको चित्र भएको कम्बलले छोपिदिइन् ।

उनले त्यो क्षणलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षण बताइन् । एक दिन अस्पताल जाँदा नर्सले नवजात शिशुको सघन उपचार कक्ष असामान्य रूपमा भरिएको बताइन् । लखुले त्यसको कारण सोधिन् । नर्सले अस्पतालका कर्मचारीबीच चर्चा भइरहेको एउटा नयाँ वैज्ञानिक लेखबारे बताइन् । उक्त लेखमा गर्मीका लहरले समयअगावै शिशु जन्मिने दर बढाउने उल्लेख थियो । त्यो लेख आफ्नै र सहकर्मीको अनुसन्धानमा आधारित रहेको लखुले बुझिन् । तर, आफ्नो अनुसन्धानले चर्चा पाए पनि त्यसलाई आफ्नो जीवनको अत्यन्त पीडादायी अनुभवसँग जोडेर हेर्ने गरेको उनले बताइन् । करिब दुई वर्षपछि पनि त्यो अनुभवले उनको जीवनशैली परिवर्तन गरेको छ । अहिले उनी एयर कन्डिसनर प्रयोग गर्न हिचकिचाउँदिनन् । उनले भनिन्, ‘यसले विद्युत्को बिल निकै बढाउँछ । तर, अहिले म यसको प्रयोगमा क्रमशः सहज हुँदै गइरहेकी छु ।’ कमजोर स्वास्थ्य भएका बालबालिकाका लागि एयर कन्डिसनर आवश्यकताका रूपमा हेर्न थालेको उनको भनाइ छ । कठिन गर्भावस्थाले आफूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको उनले बताइन् । ‘जो कोही जोखिममा छ,’ उनले भनिन् ।

यस वर्षको अगस्टमा लखु र रोबिन्सन आफ्ना छोरीहरूलाई उनीहरूको मनपर्ने पार्कमा घुमाउन लगे । त्यतिबेला त्यहाँ जाडो मौसम थियो । बाहिर सुरक्षित रूपमा खेल्न सकिने गरी वातावरण चिसो थियो । रोबिन्सन गाडीबाट ओर्लिँदा दुवै छोरीलाई काखमा बोकेका थिए । एउटीको कपाल दुईतिर बाँधिएको थियो भने अर्कीको पोनीटेल बनाइएको थियो । उनले दुवैलाई घाँसे मैदानमा छाडेपछि उनीहरू दौडिन थाले । एउटीले रातो बोतलको बिर्को भेट्टाइन् । अर्कीले खोसिन् । त्यसपछि उनीहरू हाँस्दै एकअर्काको पछि दौडिए । लखु छोरीहरूको पछि लागिन् भने रोबिन्सन केही पर उभिएर सास फेर्दै थिए । टाढाबाट हेर्दा जुम्ल्याहा शिशु समयअगावै जन्मिएको संकेत उनीहरूको निकै सानो शरीर मात्रै देखिन्थ्यो । लखुका अनुसार उनीहरू आफ्नै उमेरका ९८ प्रतिशत बालबालिकाभन्दा होचा छन् । रोबिन्सनका अनुसार नजिकबाट ध्यान दिएर हेर्नेले मात्रै उनीहरूको छालामा रहेका साना दागहरू देख्न सक्छन् । ती दाग सघन उपचार कक्षमा रहँदा जीवन बचाउन प्रयोग गरिएका सुई र पाइपका अवशेष हुन् ।