विपक्षीको मत काट्न उम्मेदवार खडा गरेको आरोप, ट्रम्प प्रशासनले थाल्यो अनुसन्धान


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अलास्काको सिनेट निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिस्पर्धीको मत काट्ने उद्देश्यले अर्को उम्मेदवार खडा गर्न षड्यन्त्र गरेको आरोपबारे अनुसन्धान तीव्र पारेको छ।

अमेरिकी अधिकारीहरूले शुक्रबार आपराधिक तथा नागरिक दुवै प्रकृतिका अनुसन्धान अघि बढाइएको जानकारी दिएका हुन्। यस घटनाले मंगलबार हुने मध्यावधि निर्वाचनअघि अमेरिकी राजनीतिमा थप अनिश्चितता सिर्जना गरेको छ।

अलास्काका संघीय अभियोजक माइकल हेम्यानले बुधबार न्युयोर्क टाइम्स मा प्रकाशित समाचारपछि अनुसन्धानमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) का थप जनशक्ति परिचालन गरिएको बताए। अनुसन्धानका लागि धेरै अभियोजक खटाइएको र आवश्यक अनुसन्धान प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा उनले निर्वाचनमा हस्तक्षेप गर्ने तथा मतदातालाई गैरकानुनी रूपमा भ्रममा पार्ने जोकोहीलाई कानुनी जवाफदेही बनाइने बताए।अलास्काको सिनेट निर्वाचनलाई अमेरिकी सिनेटमा बहुमत कायम राख्ने विषयमा निर्णायक मानिएको छ। हाल राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले सिनेटमा झिनो बहुमत कायम गरेको छ।

यस प्रकरणमा अमेरिकी न्याय मन्त्रालयले अलास्का र क्यालिफोर्नियामा अघि बढाएको कानुनी कारबाहीलाई राज्यद्वारा सञ्चालित निर्वाचन प्रक्रियामा संघीय सरकारको असाधारण हस्तक्षेपका रूपमा हेरिएको छ। क्यालिफोर्नियामा समेत केही मतपत्र गणना रोक्ने प्रयास भइरहेको छ।

एक साताअघि न्याय मन्त्रालयले अलास्का राज्यविरुद्ध मुद्दा दायर गरेपछि ट्रम्पले उक्त कदम चाल्न आफूले नै निर्देशन दिएको बताएका थिए।
अनुसन्धानमा कुन सम्भावित अपराध समेटिएका छन् भन्नेबारे अभियोजक हेम्यानले खुलाउन चाहेनन्। यद्यपि ट्रम्पले डेमोक्र्याटिक सिनेट उम्मेदवार मेरी पेल्टोलामाथि अभियोजन चलाउनुपर्ने माग गर्दै आएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा उनले यस घटनालाई ‘उच्च तहको मतदाता ठगी’ को संज्ञा दिएका थिए।

यसैबीच, अमेरिकी न्याय मन्त्रालयले शुक्रबार संघीय अदालतसँग मतदातामा भ्रम सिर्जना भएका कारण प्रभावित हुन सक्ने मतपत्र सुरक्षित राख्न आदेश दिन माग गरेको छ। मन्त्रालयले डेमोक्र्याटिक उम्मेदवारको चुनावी अभियानसहित सम्बन्धित पक्षबाट कागजात उपलब्ध गराउन पनि अदालतको सहयोग मागेको छ।

ती कागजातका आधारमा ड्यानियल जे. सुलिभानको उम्मेदवारी वास्तविक प्रतिस्पर्धाका लागि हो वा मतदातालाई भ्रममा पार्ने उद्देश्यले अघि सारिएको हो भन्नेबारे अनुसन्धान गर्न खोजिएको मन्त्रालयले जनाएको छ।

न्याय मन्त्रालयले अलास्का राज्यविरुद्ध दायर गरेको अर्को मुद्दामा रिपब्लिकनका वर्तमान सिनेटर ड्यान एस. सुलिभान पराजित भएमा निर्वाचन परिणामलाई औपचारिक प्रमाणीकरण नगर्न माग गरिएको छ। तेस्रो उम्मेदवारका रूपमा रहेका ड्यानियल जे. सुलिभान जुनियरको उपस्थितिले मत विभाजन गराउन सक्ने मन्त्रालयको दाबी छ।