बुधबारदेखि ग्यासको संयुक्त बिक्री बन्द, डिलरमार्फत नियमित वितरण हुने


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा सबै ब्रान्डका ग्यास सिलिन्डरको संयुक्त बिक्री तथा साटफेर बुधबारदेखि बन्द गर्ने भएको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै असोज २५ गतेदेखि सुरु गरिएको संयुक्त बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था बुधबारसम्म मात्रै लागू हुने जनाएको हो ।

उपभोक्ताले चाडपर्वका समयमा सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको र एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न समस्या भएको गुनासो गरेपछि संघले उपत्यकामा बजारमा उपलब्ध सबै ब्रान्डका ग्यास सिलिन्डरको संयुक्त बिक्री वितरण सुरु गरेको थियो ।

संघका अनुसार नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ । भदौ महिनामा मात्रै काठमाडौँ उपत्यकामा ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको संघले जनाएको छ ।
संयुक्त बिक्री वितरणको व्यवस्था बन्द भएसँगै उपभोक्ताले अब नियमित रूपमा आफ्ना नजिकका डिलरमार्फत ग्यास खरिद गर्नुपर्नेछ । संघले उपभोक्तालाई नजिकको डिलरमा गई ग्यास खरिद गर्न आग्रह गरेको छ ।

संघले ग्यासको संयुक्त बिक्री वितरण कार्यमा समन्वय र सहकार्य गरेको भन्दै नेपाल आयल निगम लिमिटेड र ग्यास बिक्रेता महासंघ नेपाललाई धन्यवादसमेत दिएको छ ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक पहल गरिने उल्लेख छ ।