नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना, ६ जनाको मृत्यु


काठमाडौँ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०  जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार १८ जनामध्ये ६  जनाको मृत्यु भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर छ । अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीलाई बिहान ५ः२६ बजे मृत घोषणा गरिएको थियो । मृत्यु भएका अन्यको पहिचान खुलाउने तथा शव व्यवस्थापनको प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सर्दी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार तथा व्यवस्थापनको काम गरिरहेको छ।